काठमाडौं । सांसद् खिमलाल भट्टराईले कोरोना संक्रमणबाट देशलाई जोगाउन भएका सरकारी प्रयासहरु सार्थक रहेकाे बताएका छन् ।
राष्ट्रिय सभाकाे विशेष समयमा बाेल्दै उनले काेराेना राेकथामका लागि सरकारले चालेका कदमहरू प्रशंसनीय भएकाे बताए ।
विभिन्न अस्पतालमा आइसोलेशन वार्ड, आइसियुको व्यवस्था हुनु, हरेक पालिकामा क्वारेन्टाइन निर्माण गरिनु, देशव्यापी लकडाउन गरी राहतको उचित व्यवस्थापन गर्नु सरकारका सकारात्मक प्रयास भएको बताए ।
सरकारले गरेका राम्रा कामहरुकाे पनि विराेध गरेर जनतामा भ्रम छर्ने काम भएको समेत बताए । उनले भने- ‘राज्यका सम्बन्धित निकायहरुले छानबिन गरिरहेका वाडबडी वा स्वास्थ्य सामग्री खरिद जस्ता विषय उछालेर सरकारको भ्रष्टाचार विरुद्धको संकल्प र महाअभियानमाथि भ्रम छर्ने प्रयास भएको छ ।’
लकडाउनकै बीचमा पनि राष्ट्रिय गौरवको आयोजना तथा विकास निर्माणलाई कुनै प्रभाव पर्न नदिने गरी सुरक्षात्मक उपाय अवलम्बन गरी काम अघि बढाउनु तथा घर जान चाहनेलाई सवारीको साधान व्यवस्थापन गरी पठाइनु राम्रो काम भएको बताए ।
उनले थपे - 'कठिन परिस्थितिमा सरकारले गरेको काम प्रंशसनीय होइनन् र ?'
पूर्वाग्रहका आधारमा सरकारको आलोचना गर्ने गरिएको भन्दै उनले सकारात्मक सोच प्रदर्शन गर्न विपक्षीलाई आग्रह गरे ।
भारत लगायत विभिन्न मुलुकबाट नागरिकहरु स्वदेश फर्केपछि बेरोजगारी समस्या उत्पन्न हुने भन्दै उनले यसको व्यवस्थापन तर्फ सरकारको ध्यान जानुपर्ने बताए ।
खुला नाकाबाट लुकेर नेपाल प्रवेश गरिरहेको अवस्थाले भोलि भयावह स्थिति आउने भन्दै सीमा क्षेत्रमा अलपत्र नागरिकरुको उचित व्यवस्थापन गर्न उनले आग्रह समेत गरेका छन् ।
