काठमाडौं । सांसद्हरुले नेपाल-भारतसीमा क्षेत्रमा काँडेतार वा पर्खाल लगाउन माग गरेका छन् ।
राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरुले सीमा क्षेत्रमा रहेका नागरिलाई भारतीय गतिविधिहरुले आक्रान्त बनाएको भन्दै सांसदहरुले काँडेतार वा पर्खाल लगाउन माग गरेका हुन् ।
सांसद इन्दु कडरियाले सीमा क्षेत्रमा सरकारले काँडेतार लगाउन तयार भए एक वर्षको सेवा सुविधा दिन तयार रहेको बताए । अहिले लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरेको विषयले तराईका सीमाक्षेत्रमा बस्न बासिन्दालाई आक्रान्त बनाएको बताइन् ।
उनले भनिन्–‘कुन दिन हाम्रो आगनमा किला गाडेर यो भारतको हो र तँ भारतको नागरिक हो भन्ने अवस्था नआउनला भन्न सकिन्न्, त्यसैले सरकारले पूर्वदेखि पश्चिमसम्म सीमा निर्धाण गरेर काँडेतार र पर्खाल लगाउनुपर्छ ।’ उनले सरकार यसका लागि तयार भए आफ्नो एक वर्षको तलब सुविधा दिन तयार रहेको बताइन् ।
सांसद अनिता देवकोटाले कालापानी क्षेत्रमा भारतले सडक निर्माण गरेको विषयमा प्रधानमन्त्रीले आफुलाई कसैले जानकारी नदिएको भनेर आपत्तिजनक अभिव्यक्ति दिएको बताइन् ।
भारतले नेपाली भूमिमा सडक निर्माण गरेको विषयमा सरकारको स्पष्ट धारणा सदनमा जानकारी गराउन उनले माग गरिन् ।
सांसद् उदया शर्मा पौडेलले नेपाली भूमि अतिक्रमण गरी भारतले पक्की सडक बनाएको प्रति घोर आपत्ति जनाइन् । सीमा क्षेत्रमा काँडेतार लगाउन यहि आर्थिक वर्षबाट बजेटको व्यवस्था गर्न आग्रह गर्दै उनले भारत सरकारसँग वार्ताका लागि उचित पहल गर्न सरकारसँग माग गरिन् ।
सांसद कोमल वलीले कोरोना संक्रमणको दर ह्वात्तै बढिरहेकाले सीमा क्षेत्रमा रहेका नागरिकहरुको व्यवस्थापनमा ध्यान दिन आग्रह गरिन् ।
लुकिछिपी नेपाल आउनेको संख्या बढेसँगै संक्रमितको दरपनि बढेको बताउँदै उनले उचित प्रवन्ध मिलाएर सरकारलसीमा क्षेत्रमा रहेका नागरिकलाई स्वदेश ल्याउनुपर्ने माग गरिन् ।
संक्रमण देखिएको समुदायमा सिल गर्नुपर्ने र त्यहाँ आवश्यक स्वास्थ खाद्यान्नका कुराहरुको प्रवन्ध मिलाउन स्थानीय तहहरुलाई निर्देशन दिन उनले सरकारसँग आग्रह गरिन् ।
सांसद तारादेवी भट्टले सीमा क्षेत्रमा रहेका नागरिकहरु दुबै देशले उचित व्यवस्थापन गर्ने सहमति भएपनि भारततर्फ विना कुनै सूचना दशगजा क्षेत्रमा नेपाल नागरिक अलपत्र रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराइन् । खाडीमा रहेका नेपालीहरुको उद्धार गरी स्वदेश फर्काउन पनि उनले आग्रह गरिन् ।
