काठमाडौं । राष्ट्रिय सभाको बुधबार बसेकाे बैठक तीन ‘क’ मा केन्द्रित देखियो । बैठकको विशेष समयमा बाेल्ने सांसद्हरु तीन 'क' अर्थात कोरोना, कृषि र कालापानीका विषयमा केन्द्रित थिए ।
बैठकमा बोल्दै सांसद् रामनारायण विडारीले जतिबेला संकट आउँछ त्यहीबेला भारतले नेपालको सिमाना मिच्ने गरेको बताए । उनले नेपाल भारत सिमानामा तार विछ्याई राति करेन्ट छाड्न सुझाव दिए । ‘देश कारोना र भारतीय अतिक्रमण दुबै कुराबाट एकै पटक आक्रान्त भयो’, उनले भने ।
सांसद रामेशजंग रायमाझीले भारतीय अतिक्रमणको विरुद्ध सडकमा निस्किएकालाई बल प्रयोग नगर्न चेतावनी दिए । त्यसको प्रतिवाद गर्दै सांसद महेशकुमार महरले भारतीय सेना कालापानीमा उफ्रिँदा काठमाडौंमा उफ्रिएर समस्या समाधान नहुने बताए ।
बैठकमा सांसद् शेखर सिंहले मल र बिउको व्यवस्था गर्न माग गरे । भारतबाट नेपाल भित्रिएका नागरिकमा कोरोना संक्रमण देखिएको भन्दै उनले यसको व्यवस्थापनका लागि ध्यान दिन माग गरे ।
बैठकमा सांसद् शेरबहादुर कुँवरले भारतको व्यवहार असल छिमेकीको जस्तो नभएको बताए । सासद जीवन बुढाले कोरोना नियन्त्रणको केमिकल विश्वले पत्ता लगाउला तर भारतको मिचाहा प्रवृत्ति विरुद्धको केमीकल नेपाल एक्लैले पत्ता लगाउनु पर्ने बताए ।
सांसद् सुमित्रा विसीले भारतमा रहेका नेपालीलाई चोरबाटो नभई आधिकारीक बाटोबाट भित्र्याउनु पर्ने माग राखिन् ।
सांसद माया प्रसाद शर्माले कोरोना भाइरस र छिमेकी देशको भाइरसले नेपालमाथि आक्रमण गरिरहेको बताए । विश्व कोरोनासँग लडिरहेका बेला भारतले कोरोनाको रुपमा नेपालमाथि आक्रमण गरिरहेको उनले बताए ।
