काठमाडौं । सांसद् लक्ष्मणलाल कर्णले २ नम्बर प्रदेश कर्णाली प्रदेश भन्दा पनि पछाडि परेको बताएका छन् ।
प्रतिनिधि सभाकाे बुधबार बसेकाे बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा बोल्दै उनले त्यसाे भनेका हुन् ।
उनले भने- ‘प्रदेश नं २ को अवस्था कर्णालीको भन्दा पनि कमजोर छ, कोरोनाले पनि त्यसैलाई प्रभावित बनायो ।’
सरकारले २ नम्बर प्रदेशका लागि आर्थिक, स्वास्थ्य र कोरोना महामारीको प्याकेज नल्याए अवस्था भयावह हुने समेत उनले बताए । अहिले प्रभावितको संख्या गनेर सहि डाटा नआउने बताउँदै उनले व्यापक परीक्षणको प्रवन्ध गर्न माग गरे ।
बैठकमा आफ्नो उमेर जस्तै परिपक्व मन्तव्य राखेका कर्णले महामारीको बेलामा राजनीतिबाट माथि उठेर राहातलाई ठिक ठाउँमा वितरण गर्नु पर्ने बताए ।
राज्य बच्चाको खेल नभएको बताउँदै उनले पटक पटक निर्णय नफेर्न आग्रह गरे । यस वर्ष आगलागीका घटना त्यति नभए पनि अब बाढी पहिरो आउने भएकाले त्यसका लागि दुरदर्शी सोँच बनाएर अघि बढ्न उनले सरकारलाई सुझाव दिए ।
