काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट पूरै विश्वसँगै नेपाल पनि त्रसित छ ।
नेपाल काेराेनाविरुद्धकाे लडाईं लडिरहेका बेला सांसद् नवराज सिलवालले भने कोरोनामा अवसर देखेका छन् ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उनले कोरोना नेपालका लागि अवसर भएको बताए ।
उनले भने- ‘अहिले विकासका मान्यताहरु फरक भएका छन्, कोरोना नेपालमा विकासको मान्यता परिवर्तन गर्न राम्रो अवसर हो ।’
कोरोनाले नेपालको अर्थतन्त्रलाई स्वाधिन बनाउन सहयोग पु्र्याउँने उनले बताए । विदेशी ऋण र अनुदान लिएर अगाडि बढ्ने अवधारणा परिवर्तन गर्नुपर्ने सिलवालले बताए । यसका लागि कोरोना राम्रो अवसर भएको उनकाे भनाइ छ ।
अबको बजेट रोजगारी प्रवर्द्धन, स्वास्थ्य र कृषिमा यान्त्रिकरणमा केन्द्रित हुनु पर्ने उनले बताए । करको दर हैन दायरा बढाउन उनको सुझाव थियो ।
