काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका लागि नागरिकको संरक्षणभन्दा ठूलो केही नहुने बताएकी छिन् ।
संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा शुक्रवार सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले भनिन्– ‘सरकारका लागि नेपालको धर्ती, प्रकृति, संस्कृति र नेपालीको सम्मान र नागरिकको संरक्षणभन्दा ठूलो केही छैन ।’
राष्ट्रपति भण्डारीले मावन जीवनको रक्षा सरकारको सर्वोच्च कर्तव्य भएको बताइन् । उनले भनिन्– ‘कोरोनाले परेको आर्थिक क्षति पूर्ति होला, तर गुमेको मानव जीवनको क्षतिपूर्ति हुन सक्दैन, यसबेला मानवकाे जीवनरक्षा सरकारको सर्वोच्च कर्तव्य हुन्छ ।’
सरकारले अवलम्बन गरेको स्पष्ट रणनीति, समन्वयात्मक रणनीति, नेपालीको धैर्यता र सहयोगले अहिलेसम्म कोरोनाबाट हामी नागरिकको जीवन रक्षा गर्न सफल भएको समेत उनले बताइन् ।
कोरोना रोकथामका क्रममा स्थानीय तहको महत्व अनुभूति भएको बताइन् । कोरोनाको सामना गर्नेक्रममा प्रदेश र स्थानीय तहमा भएका कामहरुले ती निकायमा भएका कामहरुको महत्व प्रष्ट्र पारेको उनको भनाइ छ ।
सरकारले कोरोनाले पारेको असलाई केन्द्रित गरेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । आर्थिक वर्ष ०७७–७८ को नीति तथा कार्यक्रममा स्वास्थ्य पूर्वाधार, रोजगारी सिर्जना र कोरोनाले समस्या परेका क्षेत्रलाई विशेष ध्यान दिइएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना नियन्त्रण सरकारको नीति तथा कार्यक्रमको प्राथमिकतामा परेको छ । यसका लागि सरकारले अब आन्तरिक स्राेत परिचालन गर्ने छ ।
राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्षमा नेपाललाई कोरोना भाइरस मुक्त बनाउने सरकारले लक्ष्य लिएको पनि बताइन् ।
सरकारले नेपालीको मान, सम्मान, स्वाभिमान र गौरव गिर्न नदिने प्रतिवद्धता जनाएको छ । राष्ट्रपति भण्डारीले प्रस्तुत गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम सरकारको सो प्रतिवद्धता आएको हो ।
‘नेपालीको मान, सम्मान, स्वाभिमान र गौरव बढाउन सरकार केन्द्रित रहेको छ’ बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भनिन् ।
कार्यक्रम र आयोजनाहरुको अब सरकारले पुन प्राथमिकीकरण गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । कृषिको आधुनिकिरण र व्यवसायीकरणका लागि राष्ट्रले ठूलो लगानी गरेको र यसलाई निरन्तरता दिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
