काठमाडौं । सरकार अहिले कोरोना विरुद्ध लडिरहेको छ ।
संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई कोभिड १९ महामारीबाट मुक्त बनाउने विषयलाई सरकारले प्राथमिकतामा जानकारी दिइन्।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारको स्वास्थ्य पूर्वाधारलाई विशेष ध्यान दिएको छ ।
आगामी दिनमा देखा पर्न सक्ने जोखिमलाई ध्यान दिँदै सरकारले प्रयोगशाला परीक्षणसहितको केन्द्रीय र प्रदेशस्तरीय सरुवा रोग अस्पताल स्थापना गर्ने भएको छ । राष्ट्रपति भण्डारीले भनिन्– ‘प्रयोगशाला परीक्षण सेवासहितको ३ सय शय्याको केन्द्रीय र ५० शय्याको प्रदेशस्तरीय सरुवा रोग अस्पताल स्थापना गरिनेछ ।’
प्रदेशस्तरमा रहेका साविकका जिल्ला अस्पतालहरुलाई २५ देखि ५० शय्याको अस्पतालमा रुपान्तरण गरिने उनले बताइन् । अञ्चल अस्पताललाई पनि २ सय शय्याको जनरल अस्पतालमा स्तरोन्नती गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
भूगोल र जनसंख्याका आधारमा हरेक स्थानीय तहमा ५ देखि १५ शैयाको अस्पताल स्थापना हुने पनि उनले बताइन् ।
सरकारले पोखरा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोसी, नारयणी, भरतपुर, भेरी र डडेल्धुरा अस्पताबाट उपलब्ध सेवाहरुलाई थप विस्तार गरेर केन्द्रीय अस्पतालालई ५ सय शय्याको अस्पतालमा विस्तार गर्ने योजना अघि सारेको छ ।
त्रिवि अस्पतालमा नेट्रोलोजी र युरोलोजी केन्द्र स्थापना गरिने उनले बताइन् । कान्ति बाल अस्पतालाई उत्कृष्ट अस्पतालका रुपमा विकास गर्ने, परोपकार रोग तथा स्त्री रोग अस्पतालाई विशिष्टिकृत, सबै मेडिकल कलेजले एक अस्पतालमा सल्य चिकित्सक सेवा दिने सरकारकाे नीति तथा कार्यक्रममा उल्लेख छ ।
अहिले ६ सय ७१ स्थानीय तहका वडामा चलिरहेकाे खाेप सेवालाई सरकारले आगामी आर्थिक वर्षमा सबै स्थानीय तहका वडामा पूर्ण खोेप कार्यक्रम लागू गर्ने पनि उनले बताइन् ।
केन्द्रीय अस्पतालहरुमा गरिब तथा विपन्नहरुलाई प्रारम्भिक तहको सेवा निःशुल्क उपलब्ध गराइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै एकीकृत एम्बुलेन्स सेवाको विस्तार र प्रमुख राजमार्गहरुमा ट्रमा सेन्टरको विस्तार गर्ने सरकारकाे लक्षय छ ।
सबै अन्तर्राष्ट्रिय सीमा नाकामा हेल्थ डेस्क र क्वारेन्टाइन स्थापना गरिने पनि राष्ट्रपति भण्डारीले बताइन् ।
