काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारलाई कोरोना प्रभावित नेपाली नागरिकहरुको मनोदशा बुझेर काम गर्न आग्रह गरेका छन् ।
संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नेपाल सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा आइतबार बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सरकारलाई सो सुझाव दिएका हुन् ।
बैठकमा बोल्दै देउवाले भने, ‘सरकारको नीति तथा कार्यक्रमहरु यो विषम परिस्थितिमा स्रोत साधनको उचित प्रयोग गर्ने गरि आउनु पर्दथ्यो । एक वर्षको नीति कार्यक्रम १० वर्षे योजना जस्तो छ । यसले जनतामा आशा जगाउन सकेको छैन ।’
सरकारलाई कोरोनाले पारेको क्षति र पार्नसक्ने क्षति प्रति ज्ञान नभएको जस्तो नीति तथा कार्यक्रममा देखिएको भन्दै देउवाले नीति तथा कार्यक्रमको आलोचना गरे ।
स्वास्थ्यकर्मीको सुरक्षा सामाग्रीको प्रत्याभूति नहुनु, बिरामीको जाँचको उचित व्यवस्था नहुनु, विदेशमा तथा, नेपाल भारत सिमा र देश भित्रै विभिन्न स्थानमा अलपत्र परेका नेपालीलाई सुरक्षित रुपमा घर पुर्याउन पनि उनले सरकारसँग माग गरे ।
कोरोनाका बिरामी, कोरोना प्रभावित, किसान, विदेशमा बसेका नागरिक, विद्यार्थी, मजदुर, अन्य रोगका बिरामी, उद्यामी व्यापारी, गरीब, अपांगता भएका नागरिक, एकल महिलाहरुको उचित व्यवस्थापनको लागि पनि देउवाले सरकारसँग माग गरे ।
परीक्षण सामाग्रीको अभावमा परीक्षणको पर्खाइमा बसेका नागरिक तथा त्रासमा परेका नेपाली नागरिकको मनोदशा बुझ्न उनले आग्रह गरेका छन्।
‘स्वाथ्य जाँचको दायरा बढाउन, राहातको प्याकेज ल्याउन र विदेशमा बसेका नागरिकलाई घर ल्याउन म सरकारसँग माग गर्दछु ’, देउवाले भने ।
पुराना योजना दोहोर्याई रहने र कोरोनासँग लड्ने खर्च एकै चोटी देशले धान्न नसक्ने उनले बताएका छन् ।
कोरोना महामारीको बेला औषधि खरिदमा समेत भ्रष्टाचार भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।
सरकारको नीति तथा कार्यक्रममा कालापानीको बारेमा उल्लेख भएको विषय सर्हानिय भएकाे उनकाे भनाइ छ । नेपाली भूमि माथि भएको अतिक्रमणको बारेमा छिमेकी मूलक चीनसँग समेत संवाद गर्नु पर्ने उनले सुझाव दिए ।
सरकारको नीति तथा कार्यक्रमले मुलुकलाई प्रगतिमा लैजाने संकेत नदिएको बताउँदै देउवाले महामारीले पार्ने वहुआयामिक प्रभावको बारेमा सरकारको नीति तथा कार्यक्रम बोल्न नसकेको बताए ।
कोरोना अत्यन्तै डरलाग्दो भाइरस भएकोले सबै नेपालीलाई दुरी अपनाएर स्वास्थ्यको ख्याल गर्न देउवाले आग्रह गरे ।
