काठमाडौं। प्रतिनिधि सभा सांसद् लक्ष्मण कर्णले किसानहरुलाई मलखाद किन्न एकदिनको तलवभत्ता सहयोग गर्न सांसद्लाई प्रस्ताव गरेका छन् ।
राष्ट्रपतिद्वारा प्रस्तुत सरकारको आगामी नीति तथा कार्यक्रम माथि संशाेधन प्रस्ताव राख्दै आइतबारको छलफलमा उनले सो प्रस्ताव राखेका हुन् ।
छलफलमा बोल्दै कर्णले भने, ‘केही सांसद्हरुले नेपाल भारत सीमानामा पर्खाल लगाउन एक वर्षको तलव दिने भन्नुभयो । पहिला एकदिन वा दुईदिनको तलव भत्ता किसानलाई मल बिउ किन्न दिनुस् त्यस पछि बाँकी काम गरौंला ।’
उनले अहिले भाषण भन्दा पनि व्यवहारमा कार्य गरेर देखाउन बेला आएको बताएका छन् । भारतको सीमानामा पर्खाल लगाउने भाषण गर्दा त्यसको प्रभाव के पर्छ भन्ने सोचेर बोल्न पनि उनले सांसदहरुको ध्यानाकर्षण गराए ।
कर्णले नीति तथा कार्यक्रम स्वास्थ्य र राहतमा केन्द्रित हुनु पर्नेमा बताए । राहत ल्याउँदा खानेकुरा मात्र नभइ महामारीका कारण डुवेका किसान, उद्योग र पर्यटनलाई उकास्ने कार्यक्रम ल्याउन उनले आग्रह गरे ।
