काठमाडौं। प्रतिनिधि सभामा सत्तारुढ दल नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले कोरोना विरुद्धको लडाईं झन् जटिल बन्दै गएको बताएका छन् ।
संसदको आइतबारको छलफलमा भाग लिँदै नेम्वाङले भने, ‘कोरोना विरुद्धको लडाईं जटिल छ । स्थिति अझै जटिल बन्न सक्छ ।’
यसैलाई बुझेर सरकारको नीति तथा कार्यक्रमले यसलाई समेटेको उनकाे भनाइ छ ।
कोरोना विरुद्ध एकतावद्ध भएर लड्नुको विकल्प नभएको उनले बताएका छन् ।
‘कोरोना विरुद्धको लडाईंमा हामी सबै एक हुन सकेका छौँ । यस विद्धको लडाईंमा हामी अझै एक भएर लागौं ' उनले भने ।
नेपाल भूकम्पको चपेटामा परेको बेला नेपालको लिपुलेक नाकालाई व्यापारिक केन्द्र बनाउने गरी भारत र चीनले गरेको सहमति नेपाललाई मान्य नहुने उनले बताएका छन् ।
बैठकमा बोल्दै नेम्वाङले भने ‘हामी भूकम्पले क्षत विक्षत भएको बेला लिम्पिधुरालाई व्यापारिक नाका बनाउने सहमति भयो । हामीलाई त्यो कुरा मान्य छैन । त्यसलाई हामी खारेज गर्छौ ।’
अब नेपालमा कहिल्यै पनि नाकाबन्दी नलाग्ने गरी सरकारले काम गरेको बताउँदै उनले भने, ‘अब नेपालमा कहिलै नाकावन्दी हुँदैन ।’
संविधानको सफल कार्यान्वयनको लागि सबैको सहकार्य आवश्यक रहेकाे बताउँदै उनले भने - ‘कतिपय कुरामा हाम्रा विमति छन् तर कतिपय कुरामा हामी एकमत छौं। आउने दिनमा पनि कतिपय महत्वपूर्ण विषयमा एकतावद्ध भएर अघि बढ्नुको विकल्प छैन ।’
सरकारको नीति तथा कार्यक्रमले एकता सहकार्यलाई जोड दिएको भन्दै उनले भने -' सरकारको नीति तथा कार्यक्रममा पुरानै शैलीमा आलोचनको लागि आलोचना मात्र नगराैं ।'
देशमा शान्ति स्थापना र राजनीतिक आन्दोलनको लागि फेरि आन्दोलन गर्नु नपर्ने उनको भनाई थियो । शान्ति प्रक्रियfका बाँकी केही काम यही संसदबाट कानुन पास गरेर पुरा गर्ने उनले जानकारी दिए ।
