काठमाडौं । प्रतिनिधि सभाका सांसद राजेन्द्र महतोले अहिले रामायण महाभारत पढ्ने बेला नभएको बताएका छन् ।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथि संसदको आइतबारको बैठकमा टिप्पणी गर्दै महतोले भने, ‘अहिले पुरा देश, देशका सबै अंग, किसान, मजदुर उद्योगीदेखि भिखारीसम्म आक्रान्त छन् । तर सरकारको नीति तथा कार्यक्रम त्यसमा केन्द्रित देखिएन ।’
अर्थतन्त्र जोगाउने ठोस नीति र कार्यक्रम नआएको बताउँदै उनले अहिलेको नीति तथा कार्यक्रम इतिहासमै नभएको लामो भएको बताए ।
सरकारको ध्यान संकटमा नगई कुर्सी जोगाउन मात्र गएको बताउँदै उनको समस्या समाधानमा सरकार संवेदनशील नभएको उनले आरोप लगाए ।
सुखी नेपाली समृद्ध नेपालको लागि स्पष्ट दृष्टिकोण सरकारले बनाउनु पर्ने उनकाे भनाइ छ ।
काेराेना संकटबाट देश जोगाउन आग्रह गर्दै उनले सीमाको सुरक्षा सरकारको जिम्मा भएको कारण जनता र देशको सीमाको रक्षा गर्न सरकारलाई आग्रह गरे ।
