काठमाडौं । प्रतिनिधि सभाका सांसद एवं संघीय समाजवादी पार्टीका नेता उपेन्द्र यादवले नेपालका सामु ४ वटा प्रमुख संकट देखेका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले देशमा स्वास्थ्य, मानवीय, आर्थिक र राजनीतिक संकट देखिएको बताए ।
राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथि टिप्पणी गर्दै यादवले संकटबाट कसरी पार पाउने भन्ने तर्फ सरकारको ध्यान जानु पर्ने बताएका छन् ।
उनले कोरोना नियन्त्रण र उपचारमा औषधि लगायतका स्रोत र जनशक्तिको अभाव भएकोले त्यसमा ध्यान दिन सरकारलाई आग्रह गरे । सरकारको नीति तथा कार्यक्रमले महामारीलाई सम्बोधन गर्न नसकेको उनले टिप्पणी गरे ।
सरकारको अकर्मण्यता र कुटनीतिक असफलताको परिणामले सीमा समस्या देखिएको बताउँदै उनले उच्च स्तरीय संवादबाट समस्या समाधान गर्न आग्रह गरेका छन् ।
ठण्डा दिमागले सोचेर नीति तथा कार्यक्रमलाई संसोधन गर्न उनले सरकारलाई सुझाव दिए ।
