काठमाडौं । राष्ट्रिय सभा सदस्य कोमल वलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम वर्तमान समस्यामा केन्द्रित रहेको बताएकी छिन् ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफलमा उनले यस कार्यक्रमले कोरोनाका कारण उत्पत्ति भएका वर्तमान चुनौतिलाई आँकलन गरेको बताइन् ।
नीति तथा कार्यक्रमले सबै पक्षलाई सम्बोधन गर्ने कोशिस गरेको उनको भनाई छ ।
सदन भित्रबाटै नीति तथा कार्यक्रम लामो आयो भनेर सुनिएको भन्दै उनले भनिन् –‘लामो भन्नासाथ यो विस्तृत छ भन्ने पक्का हो । यस्ले सवै क्षेत्रलाई समेटको प्रमाणित भयो ।’
नीति तथा कार्यक्रमले कोरोनाका कहर मुक्तिका लागि मानवको हृदयमा आशाको दियो जलाएकाे उनले बताएकी छिन् ।
कार्यक्रमले छमेकीले मुल बाटोमा बनाएको हाम्रो छातीको पाटोको माटो फिर्ता गर्ने अठोट व्यक्त गरेको उनले दावी गरिन् । लिम्पियाधुरा, कालापानीलाई सरकारले फिर्ता ल्याउन गरेको अठोटको प्रशंसा गर्दै उनले भनिन् – ‘स्याबास सरकार स्याबास ।’ .
कार्यक्रमले आचार, सदाचार र संस्कारको हिमाल निर्माण गर्दै भ्रष्टाचारलाई भष्म गर्ने प्रतिबद्धता गरेको बताउँदै उनले भनिन् –‘यस्ले आफ्नो उत्पादनमा डोजर लगाउन बाध्य किसानहरुकाे, सडकमा दूध फाल्न विवश कृषकहरुको पीडालाई सम्बोधन गरेका छ । आर्थिक मारमा परेका उद्यमी व्यवसायीहरुको मर्म बोलेको छ ।’
सरकारले मानिसको जीवन रक्षा र मानव जातिको संरक्षणलाई आफ्नो सर्वोच्च कर्तव्य ठानेको भन्दै उनले स्रोत र साधनको अभावका बाबजुद नेपालले यति गर्न सक्नु ठूलो कुरा भएको बताइन् ।
