काठमाडौँ । एटम बम जसले एकै क्षणमा हजारौँ मानिसलाई मार्न सक्छ । प्रतिनिधसभाका सांसद् प्रदिप गिरी कोरोना एटम बम भन्दापनि शक्तिसाली भएको निष्कर्षमा पुगेका छन् ।
संसद्को आइतबारको छलफलमा बोल्दै गिरीले भने,‘कोरोना एटम बम भन्दा पनि खतरा छ, रोगसँगै भोकमरीको समस्या आउँदै छ, रोगले ग्रस्त नेपालीको लागि क्वारिन्टिन बनाउँ, विदेशमा रहेका नेपालीलाई नेपालमा ल्याएर राखौँ, सँगै बाँचौला सँगै मरौला ।
संवेदनशील मानिसहरुले रोगले भन्दापनि भोकले मर्ने बेला आएको बताइसकेका भन्दै उनले यसमा सरकारको ध्यान जानुपर्ने बताए ।
विगत ४० वर्षदेखि नेपालमा सत्ताको हस्तान्तरण भए पनि रुपान्तरण हुन नसकेको उनले गुनासो गरे । ‘व्यक्तिगत रुपमा कसैलाई केही भन्नु छैन । आफूसँगै जेल परेका र प्रजातन्त्रका लागि लडेका नेताहरुलाई कसरी गाली गर्नु । तर देशमा प्रतिनिधिमूलकताको अभाव रह्यो’, गिरीले भने ।
राष्ट्रपतिलाई कुनै पार्टीको विशेष सदस्य नहुन उनले सुझाव दिए । ‘राष्ट्रपति सबैको साझा हुनुपर्छ’, गिरीले भने ।
आफ्ना छिमेकीलाई मायाँ गर्न नसक्ने मान्छे समाजवादी नहुने बताउँदै उनले सरकारको नीति तथा कार्यक्रम आफू र छिमेकीलाई मायाँ गर्ने खालको बन्न नसकेको बताए । नेपालमा कोभिड १९ भन्दा पनि खतरा भष्टाचार बनेकोले यसलाई रोक्न गिरीले आग्रह गरे ।
