काठमाडौं । नेपाली कांग्रेसका सांसद् डा. शशांक कोइरालाले कोरोनाको महासंकटसँग जुध्न सरकारलाई कांग्रेसको समर्थन रहेको बताएका छन् ।
सोमबार बसेकाे प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि विचार राख्दै सांसद् कोइरालाले सो कुरा बताएका हुन् । उनले भने- ‘कांग्रेसले विपतसँग जुध्न सरकारलाई निरन्तर सहयोग गरिरहेको छ । तर सरकार जुन गतिमा अघि बढेको छ, यो पर्याप्त छैन ।’
कोराना नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखे पनि साेही अनुसारको कार्ययोजना बनाउन सरकार सफल नभएको उनले अाराेप लगाए ।
नागरिकलाई राहत प्याकेज वितरण गर्न स्थानीय सरकार नै उपयुक्त माध्यम भएको उनले बताए । महासंकटको अवस्थामा सरकार गम्भिर हुन आवश्यक रहेको उनले बताए ।
स्थानीय कृषकको उत्पादनले बजार नपाएको बताउँदै उनले कृषिजन्य वस्तुको आयात रोक्न नसक्नु नै यसको कारण भएको बताए ।
कृषिजन्य उत्पादनमा आत्मानिर्भर हुन नयाँ योजना ल्याउन उनले आग्रह गर्नुभयो । सरकारको ठोस योजना नआउँदा नीजि क्षेत्र निराश भएको उनको आरोप थियो । पर्यटन लगायत उद्योगलाई सम्बोधन गर्ने योजना पनि आवश्यक रहेको उनले बताए ।
महामारीको विद्यमान चुनौतीसँग लड्ने गरि बजेट बनाउन पनि उनले अपिल गरे ।
