काठमाडाैं । सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले जनताको राष्ट्रिय आवश्यकता र जनताको आवश्यक सान्दर्भिकताको विषय समेटेको भन्दै नेकपाका सांसद्ले त्यसको स्वागत गर्नुभएको छ ।
प्रतिपक्षी दलका सांसद्ले भने कोराेना महामारीबाट राष्ट्र र जनतालाई बचाउने प्रभावकारी कार्य तथा आर्थिक सुधार र रोजगारी अभिवृद्धि गर्ने कार्यक्रम आउन नसकेको भन्दै नीति तथा कार्यक्रमको आलोचना गर्नुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को दुवै सदनको संयुक्त बैठकमा गत शुक्रबार प्रस्तुत गर्नुभएको आव ०७७-०७८ को नीति तथा कार्यक्रम कोभिडको महामारीबाट मुलुकलाई मुक्त गर्दै समग्र अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ केन्द्रित रहेकोले सत्तारुढ दलका सांसदहरुले त्यसको समर्थन गर्नुभयो ।
राष्ट्रिय सभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको जारी छलफलमा सहभागी सांसदले नीति तथा कार्यक्रमको व्यावहारिक कार्यान्वयनतर्फ सबै एकताबद्ध भएर लाग्नुपर्नेमा पनि सुझाउनुभयो ।
नेकपा सांसद् खिमलाल भट्टराईले नीति तथा कार्यक्रमले अहिलेको राष्ट्रिय आवश्यकता र जनताको आवश्यकतालाई सम्बोधन गरेको बताए । सर्वोपरी हित प्रवर्द्धनका विषयलाई समेटिएकाले जनताको हर्षका आँशु नीति तथा कार्यक्रममा देख्न सकिने समेत बताए ।
नेकपाका जगप्रसाद शर्माले कोभिडको महामारी नियन्त्रणका लागि सरकारले नीति तथा कार्यक्रममा सान्दर्भिक विषय समेटेको भन्दै यसलाई कार्यान्वयन गर्न परीक्षणको दायरा बढाउने र रोगबारे सचेतना फैलाउने कार्यक्रमसँगै लैजान जरुरी भएको बताउनुभयो ।
कृषिप्रधान देश नेपाललाई कृषिमा केन्द्रित योजना कार्यक्रम नीति तथा कार्यक्रमले समेटेको उल्लेख गर्दै उहाँले समग्रमा सरकारको योजना राष्ट्रिय आवश्यकता र जनचाहनालाई समेटेको भन्दै खुशी व्यक्त गर्नुभयो ।
उहाँले सीमा अतिक्रमण राष्ट्रको लामो समयदेखिको विषय भएकाले दीर्घकालीन समाधानका लागि नीति तथा कार्यक्रमले भाव बोकेको छ भन्नुभयो ।
नेकपाका सांसद रामनारायण विडारीले ‘नीति तथा कार्यक्रम लामो भएर के भो त’ भनी प्रश्न गर्दै धेरै विषय कार्यान्वयन गर्ने सरकारको प्रतिबद्धता र अठोटलाई प्रतिपक्षी दलले आलोचना गर्नुको औचित्य नभएको प्रष्ट पार्नुभयो । उहाँले नीति तथा कार्यक्रममा आएका राम्रा योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा लैजान काँग्रेसलगायत प्रतिपक्षी दलले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कोभिडको महामारी नियन्त्रणका लागि नीति तथा कार्यक्रमले विशेष प्राथमिकता दिनु सकारात्मक विषय भएको उल्लेख गर्दै उहाँले रोजगारी अभिवृद्धिका साथै कृषि उत्पादन प्रवद्र्धन पनि सरकारको प्राथमिकतामा परेकामा खुशी व्यक्त गर्नुभयो ।
सोही पार्टीका दिलकुमारी रावलले राष्ट्रियताका विषयमा नीति तथा कार्यक्रम ऐतिहासिक रहेकाले अतिक्रमित भूमि फिर्ता गराउन एकताबद्ध भएर अघि बढ्न प्रतिपक्षी दलहरुलाई आग्रह गर्नुभयो ।
सरकारको कार्यक्रमले धेरै क्षेत्रमा प्राथमिकता र प्रतिबद्धता आएकामा समर्थन गर्दै उहाँले यसको व्यावहारिक कार्यान्वयन गराउनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले कोभिडको महामारीबाट सिर्जित समस्या तीन तहकै सरकारबीच समन्वय गरेर समाधान गर्नेगरी नीति तथा कार्यक्रम आएको बताउनुभयो ।
नेकपाका इन्दिरादेवी गौतमले नीति तथा कार्यक्रम उत्कृष्ट रहेको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो । उहाँले मन्त्री, नेता तथा सांसदले राहत बाँड्ने होइन भन्दै यो काम स्थानीय तहलाई दिएर बजेट तथा स्रोत साधन जुटाइदिनुपर्ने बताउनुभयो ।
नेकपाकै जीवन बुढाले नीति तथा कार्यक्रमले नागरिकको जीउधनको रक्षा गर्नु र रोगबाट मुक्तभएपछि अर्थतन्त्रलाई जोगाउनेजस्ता कार्यक्रम समेटेकाले यो स्वागतयोग्य रहेको भन्दै यसको प्रभावकारी कार्यान्वयनमा आम नागरिकले एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तारादेवी भट्टले कोभिडको महामारी नियन्त्रण गर्न सरकार र प्रतिपक्षीदलसहित सिङ्गो देश एकताबद्ध भएर लागेको भए पनि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले कोभिडबारे विशेष कार्यक्रम ल्याउन नसकेको बताउनुभयो ।
उहाँले कोभिडबाट आक्रान्त बनेको अर्थतन्त्र सुधार गर्ने आर्थिक प्याकेज नीति तथा कार्यक्रममा ठोसरुपमा ल्याउन नसकेको टिप्पणी गर्दै आगामी बजेट शहरकेन्द्रित नभई गाउँकेन्द्रित हुनुपर्छ भन्नुभयो । विकास कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तहलाई बलियो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
बैठकमा नेकपाका सांसद खिमकुमार विश्वकर्माले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र ऊर्जाको विकासमा बजेट केन्द्रित हुनुपर्ने बताउँदै आत्मनिर्भर अर्थतन्त्रको विकास, उत्पादन प्रवद्र्धन र रोजगारी सिर्जना गर्ने विविध पक्षलाई नीति तथा कार्यक्रमले जोड दिएको बताउनुभयो ।
सोही पार्टीका अगमप्रसाद बान्तवा राईले सीमा अतिक्रमणको विषय कालापानी र लिम्पियाधुरा मात्र नभई देशको पूर्वी क्षेत्रका इलाम, पाँचथरलगायत जिल्लाको सिमानामा भारतीय पक्षले बारम्बार अतिक्रमणको प्रयास गरिरहेको भन्दै यसको दृघकालिन समाधान खोजिनुपर्ने बताउनुभयो ।
नेकपाका सांसदहरु रामचन्द्र राई, महेशकुमार महरा, गोपाल भट्टराई र गङगाकुमारी बेलबासेले नीति तथा कार्यक्रम उपयुक्त र समयसान्दर्भिक भएको भन्दै यसको समर्थन जनाउनुभयो । नेकपाका रामलखन चमारले राष्ट्रियतालाई बलियो बनाउँदै अर्थतन्त्रको सवलीकरणमा केन्द्रित नीति तथा कार्यक्रम समग्र नेपालीका अनुहारमा खुशी ल्याउने खालको भएको बताउनुभयो ।
सोही पार्टीका नैनकला ओझा, शारदादेवी भट्ट र उदयाशर्मा पौडेलले नीति तथा कार्यक्रमले अहिलेको अवश्यकतालाई समेटेको भन्दै यसको प्रभावकारी कार्यान्वयनमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । आव २०७७÷७८ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि प्रारम्भ भएको हो ।
-रासस
