काठमाडौं । राष्ट्रिय सभाका सांसद् राधेश्याम अधिकारीले राष्ट्रियताको विषयमा कसैको पनि विमती नभएको बताउनु भएको छ ।
मंगलबार बसेकाे राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले सरकारको नीति तथा कार्यक्रमको दस्तावेजमा राष्ट्रियताको विषयमा कुरा आएको भएपनि अपुरो भएको बताउनुभयो ।
‘दस्तावेज अपुरो भयो, पुर्नलेखन गरौँ भनेको हो, यसलाई यहाँहरु जे सोँच्नुहुन्छ सोँच्नुस्’, सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै उहाँले भन्नुभयो ।
कालापानी र लिम्पियाधुरा सम्बन्धमा नेपाल सरकारले जे गर्याे त्यो ठिक गरेको उहाँको भनाइ छ । ‘सँगसँगै नेपाल सरकारले नक्सा सार्वजनिक गरेर मात्र हुँदैन यसको व्यवहारिक समाधान गर्नुपर्छ’, अधिकारीले भन्नुभयो ।
राजनीतिक व्यवस्थापन गर्नको लागि योभन्दा एक कदम अगाडि बढ्नु पर्ने उहाँले बताउनु भयो । राजनीतिक व्यव्यवस्थापन अंकगणितीय हिसावले मात्र नहुने उहाँले बताउनु भयो । ‘राजनीतिक स्थिरता छ भनेर सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरेको कुरा म स्विकार्दिन’, अधिकारीले भन्नुभयो ।
कोरोनाको उपचारको लागि देशभरि भेण्टिलेटर व्यवस्थापन गर्नु पर्ने उहाँको सुझाव थियो । ‘भेण्टिलेटरको सम्बन्धमा हामीले अहिलेनै सोचेनौ भने भोलि पछुताउनु पर्छ’, अधिकारीले भन्नुभयो ।
