काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकार नेपाली जनताले बनाएको सरकार भएकाले कसैले ढाल्न नसक्ने बताउनु भएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘पछिका कुरा नगरौँ मानिसहरु झस्किएलान्, यो सरकार पाँच वर्षको हो, पाँच वर्षसम्म चल्छ ।’
ओलीले थप्नुभयो- ‘कुनै भ्रम नरहोस् यो स्थायी सरकार हो, यो जनादेशबाट आएको सरकार हो, कसैले इच्छा गर्न पाइन्छ, तर जनताले इन अफ इन अफ भनेर ल्याएको यो सरकार पाँच वर्ष ढल्दैन ।’
सरकार नेपाली जनताबाट बनेको भन्दै उहाँले कुनै देशको आशिर्वाद टिक्ने र ढालिने कल्पना नगरे हुने बताउँनुभयाे । उहाँले भन्नुभयाे- 'नागरिकले मत दिएर बनाएको सरकार भएकाले कुनै देशले ढाल्ने ढालिने कल्पना पनि नगर्नुस् ।'
अब नेपालमा कुनै तानाशाहको उदय हुन नसक्ने बताउँदै उहाँले नेपाल प्रजातन्त्रबाट पछि नहट्ने प्रष्ट पार्नुभयो ।
नेपाल आफ्नो सार्वभौमसत्ता रक्षा गर्न सक्षम रहेको भन्दै उहाँले नेपाल जस्तो बलियो देशका बीचमा रहेको देशले देखावटी राष्ट्रवाद या लम्पसारवादको बाटो समाउन नहुने बताउँनुभयाे ।
राणाशासनको समाप्तिलगत्तै पछाडिदेखि उत्तरतर्फको देशको सीमातर्फ अरु देशको सेना राख्ने, नेपालकै मन्त्रिपरिषद्को बैठकमा विदेशी नेता सामेल हुने लगायतका काम भएकाे बताउँदै उहाँले याे दुखद भएकाे गुनासाे गर्नुभयाे ।
भूगोलले देश साना ठूला भए पनि राष्ट्रियता सानो ठूलो नहुने प्रधानमन्त्रीले बताउनुभयो ।
आफूले चाहेको लोकतन्त्र मानव जीवनका सम्पूर्ण पक्षलाई ध्यान दिने खालको भएको उहाँले बताउनुभयो । 'मानव जीवनका सम्पूर्ण पक्ष समेट्ने, उपलब्धीमा सबैको पहुँच र सेयर भएको सामाजिक न्यायसहितको लोकतन्त्र' सरकारले चाहेको हाे'- ओलीले भन्नुभयो ।
देख्न मात्र पाइने तर, जनताले जीवनमा परिवर्तन महशुस गर्न नपाउने, उपभोग गर्न नपाउने लोकतन्त्र चल्तेचलाते लोकतन्त्र हुने भन्दै उहाँले नेपालमा जीवनको सुरक्षासहितको परिपूर्ण लोकतन्त्र अभ्यास गरिएकाे बताउँनुभयाे ।
समृद्ध नेपाल मात्र होइन, हाम्रो राष्ट्रिय आकांक्षा-सुखी नेपाली पनि भएकाे बताउँदै उहाँले भन्नुभयो - ‘खुसी क्षणिक हुन्छ, सुख दीगो हुन्छ, त्यसैले हामीले सुखी नेपाली भनेका हौँ ।’
निर्भय जीवन, भय र त्रासबाट मुक्तिलाई समेटेर सुखी नेपाली समृद्ध नेपालको नारा आफूले ल्याएको उहाँले बताउनुभयो ।
