काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी पास भए पनि नभए पनि लप्सीफेंदी-रातमाटे-हेटौंडा र लप्सिफेंदी-रातमाटे-दमौली-बुटवल ट्रान्समिसन लाइनकाे काम अघि बढ्ने बताउनु भएकाे छ ।
प्रतिनिधि सभाकाे मंगलबार बसेकाे बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले साे परियोजना जसरी पनि बनाउने बताउनुभयाे ।
उहाँलेे भन्नुभयाे - ‘एमसीसीले बनाए बनाउँछ अरू कसैले बनाए पनि बनाउँछ, कसैले नबनाए हामी अाफै बनाउँछौं, जसरी भएपनि ट्रान्समिसन लाइन बन्छ, हाम्रो गाँस काटेर भएपनि बनाउँछौँ ।'
प्रधानमन्त्री अाेलीले नीति तथा कार्यक्रमको २ सय ११ नम्बर बुँदामा भएको साे परियोजनाबारे केही सांसद्ले गरेकाे टिप्पणीप्रति लक्षित गर्दै भन्नुभयाे- 'एमसिसी परियाेजना जस्केलाबाट छिर्यो भन्नुभएको रहेछ, यो जस्केलाबाट होइन, मूलढोकाबाटै आएको हो ।'
अहिले उत्पादन भइरहेको र निकट भविष्यमा उत्पादन हुने विद्युतका लागि सो ट्रान्समिसन लाइन आवश्यक भएको उहाँले बताउनुभयो ।
नेपालले धेरै बिजुली उत्पादन गरिरहेकाे र बंगलादेशलाई समेत बेच्ने योजना बनाइरहेकाे बताउँदै उहाँले भन्नुभयाे- 'बिजुली ट्रक, रेल र पानीजहाजमा बेच्न मिल्दैन तसर्थ प्रसारण लाइन बनाउन लागिएको हाे ।'
एमसीसी अघिल्लो सरकारले गरेको सम्झौता भएकाले अहिले त्यसको निरन्तरता भएको उहाँले बताउनुभयो ।
एमसीसी सभामुखको टेवलमा गइसकेकाले पास गर्ने नगर्ने भूमिका सदनको भएको उहाँले बताउनुभयो । ‘पास गर्ने नगर्ने संसमा छलफल गरेर निर्णय गरौँ’, उहाँले भन्नुभयो । यसअघि दलहरुको बिचमा छलफल गर्नु पर्ने भए त्यसलाई छलफल गरेर टुङ्ग्याउन पनि उहाँले आग्रह गर्नुभयो ।
