काठमाडौं । आगामी आर्थिक वर्षको लागि नेपाल सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित भएको छ ।
प्रतिनिधि सभाको मंगलबार बसेकाे बैठकमा वहुमतले सो प्रस्ताव स्वीकृत भएको हो ।
यसअघि बैठकमा सांसदहरु दुर्गा पौडेल, मिनेन्द्र रिजाल, प्रेम सुवाल, लक्ष्मणलाल कर्ण र सरिता गरीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम माथिको संसोधन प्रस्ताव अस्विकृत भएको थियो ।
प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको संयुक्त बैठकमा जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
यसअघि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै देश र देशको स्वाभिमान भन्दा ठूलो केही नभएको बताउनुभयो । बैठकमा ओलीले भन्नुभयो, ‘कसैले नेपालले अरुको उक्साहटमा लागेर बोल्यो भनेर भन्नु नेपाल राष्ट्रलाई होच्याउने र अपमान गर्ने कुरा हो ।
नेपाल कसैको उक्साहट र वहकावमा चल्दैन ।’ कालापानीको विषयमा भारतीय सेनापतिले चिनको उक्साहटमा नेपाल बोलेको भनि दिएको अभिव्यक्ति प्रति सांसदले मागेको धारणामा प्रधानमन्त्रीको सो टिप्पणी थियो ।
नेपालले भारतसँग तनावरहित सुमधुर सम्बन्ध चाहेको पनि बताउनुभयो । दुवै देशका सरकारले इतिहासमा भएका त्रुटीहरु सच्चाए आआफ्नो भूमि सच्चिनुपर्ने उहाँले बताउनुभयो ।
कोरोना नियन्त्रण, रोकथाम र उपचारको लागि केही समयको बिचमा सरकारले धेरै काम गरेको उहाँले प्रष्ट पार्नुभयो । ‘विश्वमा कहिँ पनि तयारी भएको थिएन । हाम्रो अवस्था पनि त्यही थियो । तर हामीले छोटो समयमा धेरै काम गर्याैं’, उहाँले भन्नुभयो ।
सबै नेपालीलाई तत्काल नेपाल ल्याउन नेपालको जहाज र क्षमताले धान्न नसक्ने प्रधानमन्त्रीले बताउनुभयो । ‘४० लाख युवालाई नेपाल फिर्ता ल्याउन हाम्रा जहाजले कति समय लाग्ला, मौखिक हिसाब गर्न म कमजोर छू’, उहाँले भन्नुभयो ।
विदेशमा रहेका नेपालीलाई नल्याउने नभइ कतिलाई र कसरी ल्याउने भन्ने बारेमा योजना बनिरहेको प्रधानमन्त्रीले जानकारी दिनुभयो ।
