काठमाडौं । राष्ट्रिय सभामा सांसद्हरूले कोरोना संक्रमित र अन्य विरामीलाई एकै ठाउँमा उपचार नगर्न आग्रह गरेका छन् । सांसदहरुले अहिले दिर्घरोगी र अन्य विरामीहरुको उपचार हुन नसकेको बताएका छन् ।
बुधबार बसेको बैठकमा सांसद्हरूले पर्याप्त पूर्वाधार नभएको र विदेशमा अलपत्र परेकालाई नेपाल भित्र्याउनुपर्ने लगायतका विषयमा समते सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद नन्दा चपाईंले कोरोना संक्रमित विरामी र दीर्घ रोगी तथा गर्भवती महिलाहरुको चेकजाँच एकै ठाउँमा भइरहेको बताउनुभयो ।
कोरोना संक्रमित र अन्य विरामीहरुका लागि फरक फरक अस्पताल निर्माणमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सुविधायुक्त ठाउँमा कोरोना भाइरस र गर्भवती महिलालाई जाँच गर्ने अस्पताल फरक होलान् तर सबै ठाउँमा नभएको कारण अन्य प्रयोजनाका लागि बनाइएको भवनमा भए पनि उपचार गर्ने व्यवस्था मिलाइयोस् ।’
नेपाली कांग्रेसका सांसद् प्रकाश पन्थीले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सरकारले विदेशमा संकटमा रहेका नागरिकलाई स्वदेश ल्याउन नसकेको भन्दै आलोचना गर्नुभयो ।
आठ दश लाख नेपालीहरु विदेशमा तड् िरहेका भन्दै सांसद् पन्थीले प्राथमिकताका आधारमा उनीहरूको उद्धार गर्न आवश्यक रहेको बताउनुभयो ।
नेपालका सुविधा सम्पन्न होटलहरुलाई आइसोलेसन र क्वारेन्टाइन राख्न आग्रह गर्दै उहाँले पूर्व राष्ट्र सेवक कर्मचारीहरुलाई समेत कोरोना विरुद्धको अभियानमा प्रयोग गर्न सुझाव दिनुभयो ।
नेकपा सांसद मायाप्रसाद शर्माले द्वन्दकालमा जागिर गुमाएका शिक्षहरुलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्नुभयो । शान्ति प्रकृयासँग जोडिएको विषय भएकाले सरकारले पूर्नवहाली वा क्षतिपूर्तिको लागि बजेट छुट्याउनुपर्ने उहाँले बताउनुभयो ।
