काठमाडौं । प्रतिनिधि सभामा संविधान संशोधन विधेयक दर्ता भएको छ ।
नेपालको संविधान २०७२ को अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि साे विधेयक दर्ता गरिएको हो । कानुन न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले शुक्रबार नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक दर्ता गर्नुभएकाे हाे ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक, कालापानीसहित गुञ्जी, नाभी, कुटीलगायत भूभाग समेटिएको नेपालको नक्सा (राजनीतिक तथा प्रशासनिक) ७ जेठमा जारी गरिसकेको छ ।
निशान छापमा नेपालको नक्सा अंकित छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले त्यसमा रहेको पुरानो नक्सा हटाएर नयाँ नक्सा अंकित गर्न संविधान संशोधन गर्ने निर्णय गरेको थियो ।
साे विधेयक संघीय संसद्का दुवै सदनबाट पारित भएपछि नेपालको निशान छापमा सरकारले जारी गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा हुनेछ ।
सरकारले ५ जेठमा नेपालको अतिक्रमित भूमि समेटेर नयाँ नक्सा ल्याउने निर्णय गरेको थियो ।
