काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले रुकुम-जाजरकोट घटनाका दोषीलाई कारबाही गर्ने बताउनु भएको छ ।
राष्ट्रिय सभामा सो घटनाबारे सांसद्हरुका जिज्ञासाको जवाफ दिँदै मन्त्री थापाले दाेषी जनप्रतिनिधि वा अरु जो भएपनि कारबाही गरिने बताउनुभयो । घटनाको छानवीन भइरहेको बताउँदै उहाँले दोषीलाई उम्कन नदिइने बताउनुभयो ।
सरकार कानुनी राज्यका पक्षमा रहेको स्पष्ट पार्दै उहाँले कानुन हातमा लिने अधिकार कसैलाई नभएको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो–‘यो वडाध्यक्षकै नेतृत्वमा भएको बुझिन्छ, कानुनै न हातमा लिनु गलत हो भन्नु भएको छ, हामी कानुनी राज्यमा छौँ, उल्लंघन गर्ने जनप्रतिनिधि वा जो भएपनि कारबाही गर्छौं ।’
गृहमन्त्री थापाले वडाध्यक्षलाई नियन्त्रण लिइएको र छानवीन भइरहेको बताउनुभयो । घटनामा संलग्न कसैलाई पनि रिहा नगरिएको बताउँदै उहाँले सबै प्रहरी नियन्त्रणमा रहेका बताउनुभयो ।
कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता राधेश्याम अधिकारीले घटनाको भत्र्सना गर्दै सो घटनामा सरकारले चालेको कदमबारे गृहमन्त्रीको जवाफ माग गर्नुभएको थियो । अरु सांसद्ले पनि सो घटनाबारे बोलेका थिए ।
यस्ताे थियाे घटना
रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीकी युवती र जाजरकोटको भेरी नगरपालिका–४ का युवाबीच केही वर्षदेखि प्रेम सम्बन्ध थियाे । युवा दलित परिवार र युवती ठकुरी परिवारकी थिइन् ।
तीन वर्षदेखिकाे प्रेमलाई विवाहमा परिणत गर्न शनिबार बेलुकी युवाले अाफ्ना साथीहरु लिएर युवती लिन गए । यसअघि पनि युवतीकाे परिवारबाट पटक पटक अवराेध गरेकाले युवाले साथीहरु लिएर गएका थिए ।
प्रहरीका अनुसार भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विककी प्रेमिका सोतीकी युवतीलाई लिन भनी १९ जना गएका थिए ।
निकै उत्साहसाथ गएका नवराजकाे टाेली जब साेती पुगे तब उत्साह एकाएक हरायाे । सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका युवाहरु र गाउँले बीचमा झडप भयाेा । युवतीका परिवार र गाउँलेले लखेट्दै लखेट्दै युवाहरुलाई भेरी नदी नजिक पुर्याए ।
बच्नका लागि केही युवाले भेरीमा हाम फाले । केही प्रहरीले देख्नासाथ जाेगिए नवराजले भने युवतीकाे परिवार र गाउँलेकाे कुटाइबाट गम्भीर घाइते भए ।
अाइतबार बिहान नवराज र चौरजहारी–१ टीकाराम सुनारकाे शव भेटियाे । प्रेमलाई दुखद अन्त्य गर्दै नवराजले प्राण त्याग्न पुगे ।
साेमबार फेरि भेरी–४ का गणेश बुढाको शव भेटियाे । भेरी नगरका सञ्जु विक, गोविन्द शाही, लोकेन्द्र सुनार र गोपाल बुढाथोकी अझै बेपत्ता छन् ।
