काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले रूकुम पश्चिमको चौरजहारी-८ काे घटबारे छानवीन समिति बनाउनुपर्ने माग गर्नुभएकाे छ ।
प्रतिनिधि सभा बैठकमा बाेल्दै खाँडले संसदीय छानविन समिति गठन गर्न माग गर्नुभयाे । जाजरकाेट र रूकुम पश्चिम दुवै जिल्लाका संघीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरू सम्मिलित समिति गठन गर्नुपर्ने उहाँले बताउनुभयाे ।
रुकुममा भएकाे साे घटनामा जाजरकोटका नवराज विकसहित तीन जनाको युवाकाे ज्यान गएकाे छ । तीन जना बेपत्ता छन् ।
घटनाबारे गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिसकेकाे छ । प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री रामबहादुर थापाले दोषीलाई कानुनको कठघरामा ल्याएर कडा कारबाही गरिने बताउनुभयाे ।
घटनामा संलग्न भएको आशंकामा १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिसकेकाे उहाँले जानकारी दिनुभयाे । बेपत्ता भएकाहरुको खोजी जारी रहेको बताउँदै उहाँले भन्नुभयाे-'त्यसका लागि गोताखोर समेत खटाइसकिएकाे छ ।'
