काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसद्ले रुकुम घटनाको सर्वदलीय छानविन गर्न माग गरेका छन् ।
अन्तरजातीय प्रेम सम्बन्धका कारण जेठ १० गते रुकुमपश्चिममा भएको हत्या घटनाका विषयमा आवाज उठाउँदै सांसद्ले सर्वदलीय छानविनको माग गरेका हुन् ।
बैठकको शून्य समयमा बोल्दै सांसद्हरूले सो घटनालाई राजनीतिकरण नगर्न र मृतकहरुलाई सामाजिक शहीद घोषणा गर्न पनि माग गरेका छन् ।
बैठकमा सांसद् मीन विश्वकर्माले स्थानीय प्रशासन र प्रहरीको लापर्वाहीले घटना भएको आरोप लगाउनुभयो ।
सांसद् लक्ष्मी परियारले रुकुमपश्चिममा भएको जातीय विभेद र नरसंहारको घटनामा संविधान र कानूनको किन प्रभावकारी कार्यान्वयन भएन भनी प्रश्न गर्नुभयो ।
रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको थियो । विवाहका लागि साथी लिएर केटी भगाउन केटीको घरमा जाँदै गर्दा स्थानीयवासीले कुटपिट गरेपछि घटना भएको थियो ।
मृतक नवराजको शव भेरी नदीमा भेटिएको थियो । नवराजसँगै केटीको घरमा गएका अन्य दुईजनाको शव पनि भेरी नदीमा भेटिएको छ । सोही घटनामा अन्य तीनजना बेपत्ता छन् ।
रुकुमपश्चिमको घटना पुनः दोहोरिन नदिन बैठकमा सांसद्ले आग्रह गर्नुभएको छ ।
