काठमाडौं । प्रतिनिधि सभाका सांसद्को ध्यान कोरोना नियन्त्रण र क्वारेन्टाइन व्यवस्थापनमा गएको छ । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक तयारीलाई चुस्त बनाउन उहाँहरुले सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।
कोरोना संक्रमितको संख्या दैनिक बढिरहँदा भारतीय सीमा र तराईका जिल्लामा परीक्षण किटको अभाव भएको भन्दै उहाँहरुले आवश्यक स्वास्थ्यसामाग्री आपूर्तिको व्यवस्थालाई चुस्त दुरुस्त राख्न पनि माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सांसद्हरुले क्वारेन्टाइन र आईसोलेसनको संख्या बढाउनुको साथै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार क्वारेन्टाइनलाई व्यवस्थित बनाउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद् बिमला बिकले बर्दियामा कोरोना भाइरस परीक्षण गर्ने सामाग्री अभाव भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यसैगरी सांसद् भिमसेनदास प्रधानले काठमाडाैंका नाकामा रातभर आवतजावत भइरहेको भन्दै नाका सिल गरि क्वारेन्टाइन क्षमता बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।सांसद् भैरव बहादुर सिंहले क्वारेन्टाइनमा बसेका नेपालीलाई भारतले लखेटेको बताउनुभयो ।
सांसद् यज्ञ बहादुर बोगटीले अछाम जिल्ला कोरोना भाइरस परीक्षण किटको अभाव भएको भन्दै तत्काल आवश्यक किटको व्यवस्थापन गर्न माग गर्नुभयो ।सांसद् रंगमती शाहीले सांसद विकास कोषको रकम स्वास्थ्य परीक्षण र स्वास्थ्य सामग्री खरिदमा लगाउन आग्रह गर्नुभयो ।
बैठकमा सांसद् रविन्द्रराज शर्माले पीसीआर मेशिन र परीक्षण किटको सिघ्र व्यवस्थापन गर्न सांसद विकास कोषको रकम खर्च गर्नुपर्ने बताउनुभयो ।
अर्का सांसद् राजबहादुर बुढा क्षेत्रीले भारतबाट आउने नागरिकसँगै कोरोना पनि आउने भएकाले नियन्त्रण तथा रोकथामका लागि आवश्यक जनशक्ति र भौतिक पूर्वाधार निर्माणका लागि केन्द्र र प्रदेश सरकारले स्थानीय तहलाई रकम उपलब्ध गराउनुपर्ने बताउनुभयो ।
सांसद् राजेन्द्र कुमार केसीले विश्व स्वास्थ्य संगठनले समेत मान्यता नदिएको आरडीटी विधिबाट हुने परीक्षण रोक्न माग गर्नुभयो । सांसद् रेखा शर्माले भारतबाट ठूलो संख्यामा संक्रमितहरु आइरहेकाले कोरोना भाइरसको परक्षिण र क्वारेन्टाइनको उचित व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभयो ।
त्यसैगरी सांसद् लक्ष्मी कुमारी चौधरीले कोरोनाबाट सुदूरपश्चिम उच्च जोखिम रहेकोले पीसीआर परीक्षणको दायरा बढाउन आग्रह गर्नुभयो । भने मातृका प्रसाद यादवले सरकारले कोरोना नियन्त्रणका लागि गरिरहेका प्रयासहरु प्रयाप्त नभएको बताउनुभयो ।
बैठकमा सांसद् भरत कुमार शाहले मुलुकभरका क्वारेन्टाईनलाई व्यवस्थित बनाउन माग गर्नुभयो । सांसद् यज्ञराज सुनुवारले बर्षादको समय सुरु हुन लागेकाले खाद्य, निर्माण लगायत औषधीजन्य सामाग्रीको सहज ढुवानी र बजार व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा सांसद् भवानी प्रसाद खापुङ्गले लकडाउनका कारण बीच बाटोमा नै अलपत्र परेकालाई आ– आफ्नो घर जाने व्यवस्था मिलाउन माग गर्नुभयो ।
सांसद् राजेन्द्र गौतमले लक डाउनका कारण सामाजिक र आर्थिक जीवन ठप्प रहेको अवस्थामा निम्न वर्गका जनतालाई सम्बोधन हुनेगरी विशेष कार्यक्रम ल्याउन माग गर्नुभयो ।
