काठमाडाैं । सरकारले आगामी आर्थिक वर्ष २०७७-७८ को वार्षिक बजेट बिहीबार प्रस्तुत गर्दैछ ।
आगामी आर्थिक वर्षको राजश्व र आयको विवरण (बजेट भाषण) संघीय संसद्का दुवै सदनकाे संयुक्त बैठकमा बिहीबार अपराह्न ४ बजे प्रस्तुत हुन लागेकाे हाे । अर्थमन्त्री डा. युवराज खतिवडाले राजश्व र व्ययको अनुमान पेस गर्नुहुनेछ ।
प्रतिनिधि सभाको बुधबार बसेकाे बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि दिउँसो ३ः४५ बजे अगावै उपस्थित भइसक्न सबै सदस्यलाई आग्रह गर्नुभएकाे थियाे ।
कोरोना महामारी र यसले निम्ताएको संकटलाई सम्बोधन गर्ने गरी सरकारले बजेट ल्याउन लागेको छ । सरकारले बजेटमा कोरोना रोकथाम तथा नियन्त्रणसहित, कृषि, रोजगारी, ऊर्जा तथा सिँचाइलाई विशेष प्राथमिकतामा राखेको बताएकाे छ ।
जसअनुसार कोरोनाले थला परेकाे व्यापार व्यवसायलाई कर छुट दिइनेछ । रोजगारी तथा स्वरोजगारका लागि युवाहरुलाई अनुदान तथा सहुलियतको विशेष व्यवस्था हुने बताइएकाे छ । अधुरा आयोजना तथा अत्यावश्यकीय नयाँ कार्यक्रम समावेश हुनेछ ।
२ जेठमा राष्टपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएकाे नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने गरी बजेट आउनेछ । हरेक वर्ष जेठ १५ मा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
संयुक्त बैठकपछि बिहीबार साँझ ६ बजे प्रतिनिधि सभाको अर्को बैठक बस्नेछ ।
