काठमाडौं । सरकारले कृषिमा एक स्थानीय तह एक पकेट क्षेत्रको कार्यक्रम ल्याएको छ ।
सरकारले कृषि क्षेत्रमा कोराना महामारीबाट उत्पन्न चुनौती र अवसरलाई उपयोग गर्ने गरि सो कार्यक्रम ल्याएको हो । बिहीबार आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सो कुराको जानकारी दिनुभएको हो ।
यसका लागि ३ अर्ब २२ करोड रुपैयाँ छुट्याइएको अर्थमन्त्री खतिवडाले जानकारी दिनुभयो । उहाँले सामूहिक खेती गर्ने कृषकलाई सितभण्डार केन्द्र निर्माणमा सहयोग गर्ने बताउनुभयो ।
सबै स्थानीय तहमा एक कृषि र एक पशु प्राविधिक व्यवस्था गर्त ५० करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्रीले जानकारी दिनुभयो । सरकारले फलफूलका बिरुवा रोप्नको लागि सरकारले निशुल्क विरुवा वितरण गर्ने योजना ल्याएको छ ।
सहकारी मार्फत कपास र रेसा उत्पादनका लागि सरकाले सहयोग गर्ने पनि सरकारकाे बजेट तथा कार्यक्रममा उल्लेख छ ।
तराई र मधेशमा ट्युवेल जडान गरी भूमिगत सिँचाई गर्न २ अर्व ३२ करोड रुपैयाँ सरकारले विनियोजन गरेको छ ।
महाकाली सिँचाई आयोजनाका लागि राष्ट्रिय गौरवको आयोजना तोकेर सरकारले बजेट विनियोजन गरेको छ । यसैगरी सुनकोसी मरिण सिँचाईको सुरुङ निर्माणको लागि यस वर्ष २ अर्ब ४६ करोड रुपैयाँ सरकारले विनियोजन गरेको छ ।
मन्त्री खतिवडाले आगामी आर्थिक वर्षमा तीन सय स्थानीय तहमा भूमि बैंक स्थापना गरिने बताउनुभयाे । ‘बाँझाे जमिन धेरै भएका स्थानीय तहबाट भूमि बैंकको स्थापना गरिने छ’, अर्थमन्त्री खतिवडाले भन्नुभयाे यसका लागि ५० करोड रकम विनियोजन गरिएको छ ।’
