काठमाडौं । संविधान संशोधन विधेयक प्रतिनिधि सभामा पेस भएको छ ।
प्रतिनिधि सभाको आइतबारकाे बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पेस गर्नुभएकाे हाे ।
विधेयक पेस गर्न अनुमति माग्ने प्रस्ताव निर्विरोध पास भएपछि मन्त्री तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक पेस गर्नुभएकाे हाे । कुनै पनि सांसद्ले साे प्रस्तावमा विरोधको सूचना राखेनन् ।
विधेयकमा विरोधकाे सूचना प्राप्त नभएपछि सभामुख अग्निप्रसाद सापकोटाले पेस गर्न अनुमति प्राप्त भएको घोषणा गर्नुभएकाे थियाे । त्यसपछि मन्त्री तुम्बाहाङफेले विधेयक पेस गर्नुभयाे ।
विधेयक पेस गर्दै उहाँले भन्नुभयाे-'संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापमा उल्लेख भएको नक्सा नेपालको परिमार्जित वास्तविक नक्साअनुरुप बनाउनुपर्ने भएकाले संविधान संशोधन विधेयक ल्याइएकाे हाे ।'
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायत भूभाग समेटिएको नक्साअनुसार निशान छाप परिमार्जन गर्न ९ जेठमा सो विधेयक दर्ता गरेको थियो । विधेयकमा नेपालको नक्सा अद्यावधिक गरिएकाले नेपालको निशान छापमा सो नक्सा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्नुपर्ने उल्लेख छ ।
यसअघि बुधबारको प्रतिनिधि सभाका बैठकको सम्भावित कार्यसूचीमा राखिएको संविधान संशोधन विधेयक पेस गर्ने कार्यक्रम पछि हटाएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु भएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विधेयकबारे निर्णय गर्न केही दिन समय मागेको थियो । त्यसैले विधेयक कार्यसूचीबाट हटाइएको थियो ।
शनिबार बसेकाे कांग्रेस केन्द्रीय समिति बैठकले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको थियाे । याेसँगै विधेयक दुई तिहाइ बहुमतले पारित हुन सक्ने सम्भावना बढेकाे छ ।
यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि संविधान संशाेधन विधेयकाे पक्षमा मतदान गर्ने निर्णय गरिसकेकाे छ ।
