काठमाडौं । सांसद् सुरेन्द्र पाण्डले आगामी आर्थिक वर्षको बजेटकाे अाकार सानाे भएपनि कार्यान्वयनमा भने चुनौती नै रहेको बताउनुभएको छ । यस वर्षको बजेट २८ प्रतिशत मात्र कार्यान्वयन भएको सन्दर्भमा आउने वर्षको बजेट पनि कार्यान्वयनमा चुनौती रहेको उहाँले बताउनुभयो ।
प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्यय अनुमानमाथिको छलफलमा बोल्दै सांसद् पाण्डेले स्वास्थ्य क्षेत्रलाई बजेटले राम्रोसँग सम्बोधन गरेको बताउनुभयो । स्वास्थ्य क्षेत्रमा विगत वर्ष ७० प्रतिशत भन्दाबढी स्वास्थ्य मन्त्रालयले खर्च गर्न नसकेको स्मरण गराउँदै सुरुदेखिनै बजेट खर्च गर्न योजना बनाएर लाग्न उहाँले आग्रह गर्नुभयो ।
बजेटले शिक्षा, गरिबी निवारण, रोजगारी स्थापनालगायत क्षेत्रमा राम्रोसँग समेटेकाले त्यसको कार्यान्वयनमा सम्बन्धित मन्त्रालय गम्भीर भएर लाग्नुपर्ने उहाँले बताउनुभयो ।
कृषकलाई उत्पादनपूर्व नै अाधार मूल्य तोक्नु बजेटको राम्रो पक्ष भएको उहाँले बताउनुभयो । भूमि बैक, कृषक स्मार्ट कार्ड लगायत विषय बजेटका नयाँ विषय भएको उहाँले बताउनुभयो ।
यो वर्ष नेपाल फर्कने धेरै मानिसलाई खुवाउन पनि उत्पादन बढाउनुपर्ने चुनौती रहेको उहाँले बताउनुभयो । उहाँले कृषिमा अझैपनि बजेट कम भएको बताउनुभयो । यसका लागि खर्च नहुने पैसा तानेर कृषिमा लैजान उहाँले अनुरोध गर्नुभयो ।
उहाँले द्रुतमार्ग निर्माणका लागि सरकारले स्रोत जुटाउन लाग्नुपर्ने बताउनुभयो ।
रासयानिक मलमा भन्सार बढ्यो भन्ने कुरा भ्रम मात्र भएको उहाँले बताउनुभयो । किसानले प्रयोग गर्ने मलमा नभई गाडी र छाला सफा गर्ने युरियामा मात्र कर बढेको उहाँले बताउनुभयो । कृषकले प्रयोग गर्ने युरिया मल तथा घरायसी प्रयोगको इण्डक्स चुल्होमा आयात कर नबढेको उहाँले स्पष्ट पार्नुभयो ।
विदेशबाट प्राप्त सहायता र ऋण खर्च गर्ने क्षमता नेपालको ५० प्रतिशत मात्र रहेकोले यसलाई गम्भिरतापूर्वक हेर्न उहाँले आग्रह गर्नुभयो । ७ प्रतिशत वृद्धिदरको लक्ष राख्नु ठिकै भए पनि यसलाई प्राप्त गर्न निक्कै गाह्रो भएको उहाँले बताउनुभयो ।
बजेट कार्यान्वयन गर्न सबै मन्त्रालयले भूमिका निर्वाह गर्नु पर्ने उहाँले बताउनुभयो ।
