काठमाडौं । सांसद् राजेन्द्र महतोले राज्यको चरित्र जस्तो छ, बजेट पनि त्यस्तै आएको बताउनु भएको छ ।
प्रतिनिधि सभामा बजेटमाथि छलफलका क्रममा लामो हाँसोपछि बोल्दै महतोले बजेट पहिला जस्तो आउँथ्यो अहिले पनि त्यस्तै आएको बताउनुभयो । महतोले पटक-पटक राज्यको चरित्र अनुसारको बजेट आएको भन्दै लामो र अस्वाभाविक हाँसो हास्नुभयो ।
महतोले शासकीय वर्गलाई मात्र सम्बोधन गर्ने गरी बजेट ल्याइएको बताउनुभयो । बजेट प्रजालाई बक्सिस दिनेगरी आएको समेत उहाँले आरोप लगाउनुभयो ।
महामारीको संकटमा जनताको स्वास्थ्यको रक्षा कसरी गर्ने भन्ने विषयमा समेत बजेट नबोलेको उहाँले बताउनुभयो । सरकारले भोकभोकै मानिसलाई मर्न नदिने भने पनि दिनदिनै खान नपाएर नागरिक भोकै मरिरहेको उहाँले बताउनुभयो ।
कुल बजेटको ८९ प्रतिशत बजेट केन्द्रमा राखेर संघियता बलियो नहुने उहाँले बताउनुभयो ।
विदेशबाट आउने जनतालाई व्यवस्थान गर्न नसके देशमा लुटपाट र आतंक मच्चिने उहाँले बताउनुभयो । चुरे विनाश र मधेशको मरुभूमिकरणले भोकमरी बढ्दै जाने उहाँले बताउनुभयो ।
