काठमाडौं । कांग्रेस सांसद् मिनेन्द्र रिजालले कोरोना महामारीबाट निस्कने गरी आगामी वर्षको बजेट नआएको बताउनुभएको छ ।
प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा बाेल्दै उहाँले स्थानीय तहलाई बजेट बढाउने कुरामा सरकारको ध्यान नगएको जिकिर गर्नुभयाे । ‘कोरोनबाट निस्कन स्थानीय तहबाहेक अरुले काम गर्न सक्दैन’- रिजालले भन्नुभयो ।
बजेटमा लेखेको राजश्व संसद्लाई उपहास गर्ने गरी आएको बताउनुभयो । ‘बजेटको संशाेधित अनुमान अनुसार २२ प्रतिशत राजश्व कसरी बढ्छ ? यो संसद्कै उपहास हैन ?’ रिजालले प्रश्न गर्नुभयो ।
विदेशी ऋण ३ सय अर्ब र अनुदान ६० अर्ब आउने अवस्था नभएको बताउँदै उहाँले बजेट कार्यान्वयनमा आउन नसक्ने उहाँकाे दाबी छ । स्वास्थ्यको बजेट २२⁄२३ अर्ब बढाएर कोरोनाबाट निस्कन नसकिने उहाँको तर्क छ ।
एक वर्षको कुल बजेट भन्दा पनि कोरोनाबाट कसरी निस्कने भन्ने कुरामा पहिला केन्द्रित हुन उहाँले आग्रह गर्नुभयो ।
