काठमाडौं । राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले क्वारेन्टाइनमा इन्टरनेटको व्यवस्था गर्नुपर्ने बताउनु भएकाे छ ।
राष्ट्रिय सभामा आगामी वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले युवाहरुका लागि इन्टरनेट सास फेर्नु जस्तै भएका कारण क्वारेन्टाइनमा इन्टरनेटको व्यवस्था गर्न माग गर्नुभयाे ।
कोरोनालाई रकमान्तर गरी राहतमा श्रमिक वर्गलाई राखेर क्वारेन्टाइन बस्नेहरुको उचित व्यवस्थापन हुनुपर्ने उहाँले बताउनुभयो ।
बाहिरी देशबाट आयात हुने मदिरामा रोक लगाउनुपर्ने बताउँदै उहाँले सुर्तीजन्य पदार्थमा समेत बन्देज लगाउन माग गर्नुभयो । उहाँले भन्नुभयाे- 'सुर्ती खाएर जहाँ पाए त्यहीँ थुकेर फोहोर गर्ने प्रवृत्तिका कारण कोरोना सर्न सक्ने जोखिम बढेकाे छ, त्यसैले सुर्तीजन्य पदार्थमा रोक लगाउनु पर्छ ।'
उहाँले सही कार्यान्वयन भए, मन्त्री इमान्दार र कर्मचारी सक्रिय भए बजेटले राम्रो काम गर्ने बताउनुभयो ।
कोरोनाका कारण ठूला आयोजना, उद्योगहरु तत्काल सञ्चालनमा आउन नसक्ने हुँदा कृषिमा नै रोजगारी जोडिएको उहाँको भनाई छ । त्यसकारण सही रुपमा बजेट परिचालन हुनुपर्ने भन्दै उहाँले बजेट देशको आवश्यकता अनुसार आएको बताउनुभयो ।
