काठमाडौं । नेकपा सांसद् विष्णुप्रसाद पौडेलले कोरोनालाई परास्त गर्दै आर्थिक गतिविधि अघि बढाउने लक्ष्य बजेटले निर्धारण गरेको बताउनुभएकाे छ ।
प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा बोल्दै पौडेलले कोरोना नियन्त्रण गर्दै आर्थिक क्रियाकलाप तथा उत्पादनमा केन्द्रित हुने सरकारकाे लक्ष्यलाई बजेटले प्राथमिकता दिएको बताउनुभयाे ।
सरकारले ल्याएको बजेट विषम परिस्थिति र चुनौतीसँग लड्न क्षमता राख्ने खालकाे र यथार्थ जगमा उभिएर प्रस्तुत भएको बताउनुभयो ।
गत वर्षको तुलनामा बजेट ५ प्रतिशतले कम भएको बताउँदै पौडेलले स्रोतलाई पहिचान गरी बजेट आएको बताउनुभयो । स्रोत विश्लेषणको हिसावले पनि बजेट यथार्थपरक रहेको उहाँकाे भनाइ छ ।
बजेटले नागरिकको जीवनरक्षा र आर्थिक विकासलाई पहिलो प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । चुनौतीसँग सामना गरेर नै आगाडि बढ्नुपर्ने बताउँदै उहाँले बजेटले लिएको लक्ष चुनौतीसँग लड्न सराहनीय रहेको बताउनुभयो । बजेटले निर्धारण गरेको प्राथमिकता स्पष्ट भएको पौडेलको भनाई छ ।
स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी बजेका प्राथमिकता क्षेत्र भएको उहाँले प्रष्ट पार्नुभयो । अहिलेको परिस्थितिलाई ठिक ढंगले बुझ्नुपर्ने बताउँनुभयाे ।
काेरोनासँग जुध्ने कुरामा मात्रै लाग्ने हो भने कोरोनाबाट निस्किएपछि अवस्था जटिल हुने भएकाले कोरोनासँग जुध्दै विकासको गतीमा अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । 'आर्थिक गतिविधि र उत्पादन बृद्धिमा निरन्तरता नदिने हाे भने कोरोना सकिएको भोलिपल्ट केही गर्न नसक्ने अवस्थामा पुग्छौं, बजेट त्यसमा केन्द्रित छ’- उहाँले भन्नुभयाे ।
लकडाउनले धराशायी भएका उद्योगधन्दा तथा व्यवसायलाई ५ प्रतिशत सहुलियत ऋण तथा १ खर्बको पुनर्कर्जाले राहत दिएको बताउँदै उहाँले भन्नुभयाे- '१२ लाख प्रत्यक्ष तथा परोक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य महत्वपूर्ण छ ।'
कृषि, सिंचाई, खानेपानी, वन–वातावरण, स्वास्थ्य, शिक्षा, उद्योग वाणिज्य, विद्युत, राष्ट्रिय आवश्यकताका योजना लगाय क्षेत्रलाई बजेटले राम्रो सम्बोधन गरेको उहाँले बताउनुभयो ।
