काठमाडौं । सांसद् भगवती न्यौपानेले सीमा रक्षाका लागि पर्याप्त बजेट छुटाउनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय सभाको बैठकमा बजेटमाथिको छलफलमा उहाँले सीमामा बस्ने बासिन्दाका लागि प्रशासनिक पहुँच पुराउने, सहुलियतको व्यवस्था गर्ने तथा उनीहरुको विकास गर्ने गरी बजेट ल्याउनुपर्ने बताउनुभयो ।
समग्रमा बजेट कोरोनाका कारण सिर्जित विषम परिस्थितिमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर आएको उहाँले बताउनुभयो । दोषी चश्माले हेर्दा बजेट रिग्रेसिभ देखिन सक्ने भन्दै उहाँले निर्दोष चश्माले हेर्दा बजेट सुन्दर र प्रोगेशिभ देखिने बताउनुभयो ।
परीक्षणको दायरा बढाउने तथा चिकित्सकलाई प्रोत्साहन गर्ने गरी आएको बजेटले स्वास्थ्यमा जनताको पहुँच पुर्याउन अहम भूमिका खेल्ने विश्वास लिएको उहाँले बताउनुभयो ।
बजेटले संघीयताको मर्मलाई आत्मसात गरेको समेत न्याैपानेले बताउनुभयो । उहाँले भन्नुभयो– ‘स्थानीय र प्रदेशलाई सबल पार्ने उदेश्यले विकेन्द्रिकृत गर्ने गरी योजनाहरुलाई कार्यान्वयनमा लैजान यो बजेटले सशर्त र अनुदानलाई उल्लेखनीय रुपमा विनियोजन गरेको छ ।’
उहाँले निजी अस्पालहरुले मानवीय संवेदनालाई हेक्का नराखिकन उपचारमा बेवास्ता गरेको भन्दै स्वास्थ्य क्षेत्रमा निजीकरणको आवश्यकता नभएको बताउनुभयो । उहाँले यसलाई सरकारीकरण गर्न समेत सुझाव दिनुभएको छ ।
कृषिमा आमूल परिवर्तन गर्ने गरी बजेट आएको हुँदा कृषिमा आत्मनिर्भर हुने किसानहरुले सुखद अनुभूति गरेको समेत उहाँले बताउनुभयो । यसैगरी बाँझो जमिनलाई अन्त्य गर्ने गरी भूमि बैंकको नीति अगाडि आउनु अत्यन्तै स्वागत योग्य भएको उहाँले बताउनुभयो ।
