काठमाडौं । सरकारले लिएको राजश्व असुलीको लक्ष्य पूरा हुन निकै समस्या हुने सांसद् विनोद चौधरीले बताउनु भएको छ ।
प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा बोल्दै चौधरीले साउनबाट अवस्था सामान्य भएपनि राजश्व असुलीको लक्ष्य पूरा गर्न निकै गाह्रो हुने बताउनुभयो ।
‘विदेशमा रहेका नेपाली फर्कंदै छन्, रेमिट्यान्स घट्दै छ, अबको स्थिति अत्यन्त कठिन हुनेवाला छ’- चौधरीले भन्नुभयो ।
ठूलाे ऋण लिएर स्थापना भएका परियोजनाहरु लगभग बन्द भएकाले देश टाट पल्टने अवस्थामा पुगेको उहाँले बताउनुभयो । ‘सबै क्षेत्र बन्द छ, चलेको छ भने ब्याजको मिटर मात्र चलेको छ’- उहाँले भन्नुभयो ।
कृषि उत्पादन समेत बजारमा पुग्न नसकेको अवस्था आएको उहाँले बताउनुभयो । व्यापारको श्रृंखला ठप्प भएकाले यसलाई नजोड्ने हो भने देश गम्भिर संकटमा जाने पनि उहाँले बताउनुभयो ।
