काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आमालाई गर्ने मायाको नाप तौल नगर्न आग्रह गर्नु भएको छ ।
सांसद् भट्टराईले नेपाल भूमि सबैकी आमा भएकाले आमाको मायाँ कसैलाई घटबढ नहुने बताउनुभयो । प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेट माथिको छलफलमा बोल्दै भट्टराईले सुगौली सन्धिअनुसार कालापानीको जमिन नेपालकै भएको बताउनुभयो ।
‘आमाको विषयमा विवाद गर्नुहुँदैन, आमालाई कसले बढी मायाँ गर्ने भन्ने विवाद नगरौँ, आमाको मायाँ सबैलाई लाग्छ, हामी सबै देशभक्त हौँ’, उहाँले भन्नुभयो ।
नेपाली भूमि समेटिएको मानचित्र पहिले नै आउनुपर्ने बताउँदै उहाँले ढिलै भएपनि आएकोमा खुसी व्यक्त गर्नुभयो । ‘यसका लागि सबै मिलौँ,राष्ट्रिय सहमति बनाएर संविधान संसोधन गरौँ’, भट्टराईले भन्नुभयो ।
सत्य कुरा गर्दा आरोप लाग्न सक्ने बताउँदै यसबाट आत्तिन नहुने भट्टराईले बताउनुभयो । ‘सत्य बौल्दा गालिगलौज आउँछ, तर डराउनुहुँदैन, सत्य काम गर्ने हिम्मत गरौँ, देश बन्छ’, भट्टराईले भन्नुभयो ।
