काठमाडौं । नेपाली कांग्रेसका सांसद् जितेन्द्रनारायण देवले आगामी आर्थिक वर्षमा ७ प्रतिशतले आर्थिक वृद्धि हासिल गर्न सरकारलाई चुनौती दिनुभएको छ ।
आइतबार बसेकाे राष्ट्रिय सभा बैठकमा सांसद् देवले आगामी आर्थिक वर्षमा ७ प्रतिशतले आर्थिक वृद्धि भए राजनीति नै त्याग्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले सबैभन्दा ठूलो च्यालेन्ज अार्थिक क्रियाकलापलाई अगाडि बढाउनु पर्ने हो, एउटा आर्थिक पुनरुत्थानको कामलाई अगाडि बढाउनुपर्ने हो मेरो चुनौती छ नेपाल सरकार र अर्थमन्त्रीलाई यदि ७ प्रतिशतको जीडिपिको ग्रोथ रेट ०७७-०७८ मा भयो भने म राजनीति छोड्न्छु ।’
बैठकमा सांसद् देवले बजेट कुन वर्षका लागि आएको हो भन्दै प्रश्न गर्नुभयो । ‘यो समाजको सुकिला मुकिलाहरुको मात्रै बजेट हो की, यो समाजको सुट र टाई लगाउने वर्गको मात्रै बजेट हो की यो समाजमा मुस्ताङी स्याउ जस्तो रातो रातो गाला भएकाहरुको मात्रै बजेट हो की ?’- उहाँले भन्नुभयो ।
बजेटमा सिमान्तकृत, विपन्न र गरिब नागरिकलाई नसमेटिएको उहाँले बताउनुभयो । धेरै ठाउँमा जनताहरु खाना नपाएर भोकले ज्यान गुमाउनुपरेको भन्दै उहाँले भन्नुभयो- ‘लकडाउनले आज सप्तरीमा मलरसदाले खान नपाएर भोकभोकै प्राण त्यागे, खान नपाएर भोक भोकै कीर्तिपुरको रोडमा सुर्यवहादुर तामाङ दाम्लो र डोको छातिमा राखेर प्राण त्यागे, आज हजारौं लाखौं मलरसदा र सुर्यवहादुर तामाङ यो मुलुकमा छन् । उनीहरुकाे सहयोगका लागि बजेट खोई ? कहाँ बजेट विनियोजन भएको छ कि बजेट विनियोजन हुनुहुँदैन थियो ?’
उहाँले सरकारलाई गरिबमारा बजेट ल्याएको आरोप लगाउनुभयो । लकडाउनको कारण आपूर्ति शून्य भएकाले कलोबजारी र विचौलियाको संख्या बढेको र कृत्रिम अभाव तथा महंगीलाई रोक्ने खालको बजेट नआएको बताउनुभयो ।
कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा पनि सरकारले ६ अर्ब मात्रै बजेट छुट्याएको भन्दै आपत्ति जनाउनुभयो । पीसीआर परीक्षण गर्न समेत नपुग्ने बजेट आएको भन्दै उहाँले कोरोना रोकथामका लागि अझै बजेट बढाउनुपर्ने बताउनुभयो ।
कृषि क्षेत्रमा गतवर्ष भन्दा केही बजेट बढाइएको भएपनि मलखादमा ५ प्रतिशत र विउविजनमा १५ प्रतिशत कर बढाएर कृषि क्रान्ति नहुने बताउनुभयो ।
