काठमाडौं । सांसद् गंगा चौधरी सत्गौवाले अनुदानसँग जमिन, स्वाभिमान र राष्ट्रियता कदापि साट्न नसकिने बताउनु भएको छ ।
प्रतिनिधि सभाको सोमबारको शून्य समयमा बोल्दै सांसद् चौधरीले सीमा विवादको विषयमा भन्नुभयो, ‘नेपालमाथि भारतको दादागिरी- नमिचिएको ठाउँ छैन, नहेपिएको गाउँ छैन, भन्दा भन्दै भारतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न लाग्यो ।’
केही सांसद्ले नेपालको मिचिएको भूमिको बारेमा भारतसँग सल्लाह गर्नुपर्ने भनी दिएको अभिव्यक्तिमाथि कडा प्रहार गर्दै चौधरीले भन्नुभयो, ‘भूमि मिचाहसँग सल्लाह छलफल गर्नु पर्यो रे, आफ्नो जमिन मेरो हो भन्न पनि मेरो देशको भूमि मिचाहासँग सल्लाह गर्नुपर्ने ? कस्तो विडम्बना ?’
नेपालका प्रधानमन्त्रीले एउटा सपना फाल्दा ‘र’ का एजेण्टहरु १५ दिनसम्म घाइते भएको चौधरीले बताउनुभयो । नेपालको सपनाको विरुद्ध सम्पूर्ण शक्ति एक भएर उफ्रिरहेको उहाँले बताउनुभयो ।
राष्ट्रियताका सवालमा मै हूँ भन्नेलाई राम्रैसँग चिनिएको उहाँले बताउनु भयो । नक्कली राष्ट्रियताको मुकुण्डोको पर्दाफास हुने समेत उहाँले चेतावनी दिनुभयो ।
