काठमाडाैं । नेकपा नेता एवं राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले नेपालीलाई आफ्नो भूमि जोगाउन कसैको आड लिन आवश्यक नरहेको बताउनुभएको छ ।
मंगलबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै श्रेष्ठले एउटा छिमेकीले नेपाली भूमि अतिक्रमण गर्नु र फिर्ता माग गर्दा उल्टै आइलाग्नु दुःखद भएको बताउनुभयो ।
त्यति हुँदा हुँदै पनि आवेशमा नआई कुटनीतिक संवादबाटै समस्या समाधान गर्ने कुरामा नेपाल प्रतिवद्ध रहेको उहाँले बताउनुभयो ।
राजनीतिक दल र नेपाली जनता संकटको कुटनीतिक रुपमा समाधान गर्न लागिरहेको बेला भारतीय अधिकारीले नेपाललाई आरोप लगाउनु खेदजनक भएको उहाँले बताउनुभयो ।
भारतीय अधिकारीको गैरजिम्मेवार अभिव्यक्तिको खण्डन गर्दै श्रेष्ठले भन्नुभयो, ‘नेपाललाई आफ्नो भूमि जोगाउन र फिर्ता लिन कसैको आड चाहिँदैन, यो इतिहाँसले प्रमाणित गरिकेको छ ।’
नेपाली जनताले सम्पूर्ण मातृभूमि समेटेको मानचित्र पाएका बताउँदै श्रेष्ठले नेपालाको मानचित्र सँगसँगै अतिक्रमित भूमि प्राप्त गर्न कुरा प्रमुख रहेको बताउनुभयो । राष्ट्रिय सहमति सहित अब त्यो दिसामा अघि बढ्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
‘आज आरोप प्रत्यारोपमा लाग्ने बेला हैन, यो ऐतिहासिक कदममा एकजुट भएर लाग्नुपर्ने अवस्था छ’, श्रेष्ठले भन्नुभयो ।
राष्ट्रियता सार्वभौमिकता, स्वाभिमान, भौगोलीक अखण्डता र स्वाधिनता जोगाउन नेपाली सँधै लागि रहेन उहाँले बताउनुभयो । अतिक्रमित सिमा लगायतले नेपाली भूमि फिर्ता लिएर छाड्ने पनि उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
श्रेष्ठले १९५० को असमान सन्धि खारेज गर्नु पर्ने बताउनुभयो । भारतलाई नेपाल माथिको मिचाहा प्रवृत्ति आत्माआलोचना गरी सच्याउन समेत उहाँले आग्रह गर्नुभयो । एतिहाँसिक तथ्यको आधारमा वार्तामा बसेर समस्याको समाधान गर्न नेपाल तयार रहेको उहाँले बताउनुभयो । यसको लागि भारत पनि व्यवहारीक रुपमा तयार हुनुपर्ने श्रेष्ठको भनाई छ ।
श्रेष्ठले नेपालको भूमि, सार्वभौमिकता र सार्वभौमसत्ता माथि अतिक्रमण हुने काम नगर्न चीनलाई पनि आग्रह गर्नुभयो । चीनले भारतसँग लिपुलेक–मानसरोवर सडक निर्माण गर्ने गरी गरेको सम्झौता नेपालको सार्वभौमसत्ता माथिको अतिक्रमण भएको श्रेष्ठले बताउनुभयो । उहाँले चीनलाई यसबारेमा बोल्न आग्रह गर्नुभयो ।
