काठमाडाैं । सांसद्हरुले तत्काल महिला र किशाेरीहरुका लागि छुट्टै निर्देशिका बनाएर लागू गर्न सरकारसँग माग गरेका छन् ।
राष्ट्रिय सभाकाे विशेष समयमा बाेल्दै विषयमा सांसद् दिलकुमारी थापा रावलले लकडाउन अवधिमा ५८ जना सुत्केरी र गर्भवतीहरुको निधन भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयाे ।
सुत्केरी र गर्भवतीहरुको क्वारेन्टाइमै निधन भएको विषयमा सरकारले सत्य-तथ्य सदनमा जानकारी गराउनुपर्ने उहाँकाे माग छ । जोखिममा रहेका महिला र किशोरीहरुका लागि छुट्टै निर्देशिका बनाएर सरकारले लागू गर्नुपर्ने उहाँले बताउनुभयो ।
स्वास्थ्य संस्थामा गर्भवती महिला र सुत्केरी महिलाहरुको सहज उपचार सेवा प्रदान गर्न उचित व्यवस्थापन गर्न पनि उहाँले आग्रह गर्नुभयो । अहिले घरेलु हिंसा, बलात्कारका घनाहरु बढिरहेको र यसको न्यूनीकरणकाे लागि सरकारले निर्देशिका बनाएर अगाडि बढ्न आग्रह गर्नुभयो ।
सांसद बिमला राई पौडेलले विगत वर्षहरुमा जनचेतना अभावकाे कारण गर्भवती र सुत्केरी महिलाहरुको ज्यान जाने गरेकोमा अहिले उपचार अभावमा मृत्यु हुने गरेको बताउनुभयो । उपचार नपाएर क्वारेन्टाइनमा सुत्केरी महिलाहरुको मृत्यु भएको समाचारहरु आइरहेकोप्रति उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
पर्याप्त पीसीआर परीक्षण नहुनु, स्वास्थ्य उपकरणको अभावमा गर्भवती महिलाहरुको जाँच नुहनुले पनि घटनाहरु बढेको उहाँले बताउनुभयो ।
लकडाउनमा समयमै स्वास्थ्य संस्था पुग्न नसक्नु र स्वास्थ्य संस्थामा पनि उपचार सेवा पाउन नसक्ने अवस्थाको अन्त्य गर्न उहाँले छुट्टै निर्देशिका बनाउनुपर्ने बताउनुभयाे । आत्महत्या र घरेलु हिंसाका घटनाहरु बढिरहेको अवस्थामा सरकारले यसतर्फ ध्यान दिनु जरुरी रहेको उहाँले बताउनुभयो ।
सांसद् अनिता देवकोटाले सशस्त्र द्वन्दकालमा राखिएका बमहरु खोजेर निष्क्रिय गर्न सरकारसँग आग्रह गर्नुभयाे । रोल्पामा गत वैशाख १८ गते बम विस्फोटबाट चार जना बालबालिको निधन भएको स्मरण गराउँदै उहाँले बमहरु खाेजेर निष्क्रिय गर्न आग्रह गर्नुभएको हो ।
तत्कालीन नेकपा माओवादीले सशस्त्र विद्रोहका बेला लुकाएका बमहरु पड्केर जनता त्रसित भएको भन्दै उहाँले तत्काल खोजी गरी निष्क्रिय गर्नुभएकाे हाे ।
उहाँले भन्नुभयो, 'लुकाएर राखेका हातहतियार अहिले पनि पड्किने र जनताहरु त्रसित हुने क्रम रोकिएको छैन । अहिले माओवादी सरकारमा छ । सशस्त्र द्वन्दको नेतृत्वकर्ता अहिले गृह मन्त्री हुनुहुन्छ । तसर्थ ज्ञानका आधारमा, जानकारीका आधारमा कुन–कुन ठाउँमा बमहरु लुकाइएको छ, खोजी गरी डिस्पोजल गर्न आगह गर्छु ।'
