काठमाडाैं । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले संसदीय परीक्षण सूची (चेकलिस्ट) तयार पारेको छ ।
सरकारका नीति नियम तथा कानुनलाई दिगो विकासका लक्ष्य कार्यन्वयनमा केन्द्रित बनाउने उद्देश्यले संसदीय परीक्षण सूची (चेकलिस्ट) तयार पारिएकाे हाे ।
दीगो विकास लक्ष्य हासिल गर्न सरकारका विद्यमान कानुन, नीति नियम तथा नया विधेयकहरु दिगो विकासमैत्री हुनुपर्ने विषयमा लामो समयदेखि छलफल गर्दै आएको समितिले अन्ततः संसदीय परीक्षण सूची तयार गरेको हो ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले विज्ञहरुसँगको छलफल र सदस्यहरुको सुझाव समेटेर दिगो विकास सम्बन्धी संसदीय परीक्षण सूची (चेकलिस्ट) लाई अन्तिम रुप दिएको हो ।
चेकलिस्टले संघीय संसद् तथा संसदीय समितिहरुमा पेस भएका वा हुने विधेयक दिगो विकास लक्ष्य अनुरुप भए/नभएको मुल्यांकन गर्ने आधार प्रदान गर्नेछ ।
सरकारका नीति तथा कार्यक्रम, बजेट विनियोजन लगायतलाई दिगो विकास लक्ष्य हासिल गर्ने सवालमा केन्द्रित गर्न, प्रत्येक विधेयकलाई दिगो विकासको दृष्टिकोणबाट विश्लेषण गर्न र सरकारलाई आवश्यक दबाब दिन चेकलिस्टले सहयोग पुग्ने समितिको विश्वास छ ।
चेकलिस्टमा समावेशीता पर्यावरण, लैंगिक समानता, सुशासन, गरिबी निवारण, तथ्यांक लगायत दिगो विकासका साझा आधारका आधारमा विभिन्न १६ शिर्षकमा ६० वटा परीक्षण सूचक समावेश छन् ।
समिति सभापति तारादेवी भट्टले सरकारका विद्यमान कानुन र नयाँ विधेयकहरुमा गरिएको व्यवस्था दिगो विकास लक्ष्य कार्यान्वय उन्मुख भए/नभएको जाँच्नका लागि संसदीय परीक्षण सूची (चेकलिस्ट) तयार गरिएको जानकारी दिनुभयो ।
साे चेकलिस्ट संघीय संसदका दुवै सदनका सांसद र प्रदेशसभाका सांसदहरुलाई वितरण गरिने छ ।
