काठमाडाैं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले सामाजिक सञ्जालबाट कमेन्ट गरेजस्तो काम गर्न सजिलो नभएको स्वीकार गर्नुभएको छ ।
प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा मन्त्री भुसालले फेसबुकमा कमेन्ट गरेजस्तो काम गर्न सजिलो नभएको बताउनुभयो ।
उहाँले नेपालमा उत्पादन भएको दुधजन्य वस्तुहरुको विक्री गर्न नसकेको स्वीकर गर्दै कमेन्ट गर्न जस्तो काम गर्न सजिलो नभएको बताउनुभयो । उहाँले पहिला आफूलाई पनि त्यस्तै लाग्ने गरेको तर अहिले काम गर्न कठिन भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो- ‘दुधको बटर हामीसँग एक हजार मेट्रिक टन बढी भइसकेको छ, उत्पादनको हिसाबले १५ सय मेट्रिकटन पाउडर दुध थुप्रिएको छ , त्यो बेच्नु पर्ने छ, त्यसको करिब करिब दुई ढाई अर्ब त्यहाँ रोकिएको छ , त्यसले गर्दा त्यो रेगुलेट सर्कुलेट हुन पाएको छैन ।'
उहाँले अफगानिस्तान, पाकिस्तान कहाँ बेच्न पाइन्छ भनेर प्रयत्न गरिएको तर नसकिएको बताउनुभयाे । सेना पुलिसलाई खुवाउन सकिन्छ कि भनिएको भएपनि नसकिएको बताउनुभयो ।
उहाँले किसानलाई उपलब्ध गराउने मलको विषयमा पनि समस्या रहेको बताउनुभयो । अहिले सरकारसँग १५ हजार मेट्रिक टन युरिया, २० हजार टन डीएपी र साढे पाँच हजार मेट्रिक टन जती पोटास मल रहेको तर त्यतिले नपुग्ने उहाँले बताउनुभयो । आयातको क्रममा रहेको मल पनि ढुवानीमा समस्या हुँदा ल्याउन नसकिएको उहाँले बताउनुभयो ।
उहाँले कृषि पेशामा लाग्ने किसानहरुको न्यूनतम बचत सहितको आम्दानीको सुरक्षा गर्नु नै कृषि क्षेत्रको लागि सबैभन्दा ठुलो काम हुने बताउनुभयो । अनुदान दिएर भन्दा किसानको उत्पादनको बजारीकरण र बचत सहितको आम्दानीको सुनिश्चितता गराउने गरी काम गर्नुपर्ने भुसालले बताउनुभयो ।
यस्तै पछिल्लो समय सलह आउने चिन्तामा किसानहरु रहेको भन्दै त्यसका लागि मन्त्रालयले कसरी नियत्रण गर्ने भन्ने सम्बन्धमा समिति गठन गरी अध्ययन गरिरहेको जानकारी भुसालले समितिलाई गराउनुभयो ।
