काठमाडौं । राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले लकडाउनको मोडालिटी परिवर्तन गर्न सरकारलाई आग्रह गर्नुभएकाे छ ।
राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद् न्यौपानेले लकडाउनले मानिसहरुको जनजीवन कष्टकर भइरहेको तथा अर्थतन्त्र समेत चौपड हुने संकेत देखिएकाले लकडाउनको मोडालिटी परिवर्तन गर्नुपर्ने बताउनुभयाे ।
उहाँले तराईमा कोरोना संक्रमण फैलिरहेको हुँदा तराइमा लकडाउनमा थप कडाई गर्नुपर्ने बताउनुभयो । त्यस्तै कम जाेखिम देखिएका पहाडी जिल्लामा भने लकडाउनलाई खुकुलो पार्नुपर्ने उहाँकाे सुझाव छ ।
भारतबाट तथा तेस्रो मुलुकबाट आउने नागरिकहरुको संख्यामा वृद्धि भइरहेका कारण बोर्डरमा नै पीसीआर टेष्ट गर्न उहाँले आग्रह गर्नुभयाे । संक्रमितको संख्या अझै बढ्ने हुँदा सम्भव भएसम्म बोर्डरमा नै कोरोना परीक्षण गरी त्यही क्वारेन्टाइनको व्यवस्था मिलाएर राख्नुपर्ने उहाँले बताउनुभयो ।
आरडीटी परीक्षणले मात्र कोरोना परीक्षण गर्न नहुने उहाँको भनाई छ । आरडीटी परीक्षण मात्र विश्वसनीय नहुने हुँदा उहाँले पीसीआरको परीक्षणको दायर बढाउन माग गर्नुभयो ।
लकडाउनका कारण महिलाकाे स्वास्थ्यमा पर्न गएको असरलाई ध्यान दिँदै राष्ट्रिय आपतकालीन कोष स्थापना गर्न माग गर्नुभयाे । विशेष गरी गर्भवती महिला, सुत्केरी महिलाकाे उपचारलाई ध्यानमा राखी कोष स्थापना गर्नुपर्ने उहाँले बताउनुभयाे ।
