काठमाडौं । पश्चिम रुकुम घटनाको छानविन गर्न सर्वदलीय संसदीय समिति बन्ने भएको छ ।
प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो जानकारी दिनुभएको हो । सदनमा प्रतिनिधित्व गर्ने दलसँग छलफल गरी संसदीय सर्वदलीय समिति गठन गर्ने सभामुखले घोषणा गर्नुभयो ।
सभामुखको सो घोषणा नआएसम्म प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसद्हरुले उठेर विरोध जनाएका थिए ।
यसअघि कांग्रेस सांसद् पुष्पा भुसाल गौतमले रुकुम घटनाको छानविन गर्न सर्वदलीय संसदीय समिति गठन गर्नुपर्ने माग गर्नुभएको थियो । उहाँले रुकुम घटना मानवता विरुद्धको अपराधको घटना भएको बताउनुभयो ।
रुकुम घटनामा सामूहिक हत्या भएको उहाँले बताउनुभयो । पोष्टमार्टम रिपोर्टले ६ जना युवाको हत्या भएको देखाएको उहाँले जनाउनुभयो । सो घटना योजनावद्ध हत्या भएपनि राज्यले घटनालाई राजनीतिककराण गर्ने प्रयास गरेको उहाँको आरोप छ ।
उहाँले छानविन समिति नबनेसम्म कांग्रेसले सदन अघि बढ्न नदिने बताउनुभयो । त्यसपछि कांग्रेस सांसद्हरुले उठेर विरोध जनाएका थिए । सभामुखले संसदीय छानविन समिति बन्ने घोषणा गरेपछि बैठक अघि बढेको थियो ।
