काठमाडाैं । राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले नेपाली जनता अहिले दुई वटा महामारीबाट थला परेकाे बताउनुभएकाे छ ।
राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद् देवले एकैपटक स्वास्थ्य र आर्थिक महामारीको सामना जनताले गरिरहेको भन्दै सरकारकाे ध्यानाकर्षण गर्नुभयाे । यी दुई महामारीमा सरकारको समयमै ध्यान जान जरुरी रहेको उहाँकाे भनाइ छ ।
भोकमरीका कारण जनताको निधन हुँदा स्थानीय जनप्रतिनिधिले पीडीतको बयानसँग राहतलाई बार्गेनिङ गरेको भन्दै उहाँले आर्थिक संकट र भाकै मर्नुपर्ने स्थितिलाई गम्भीरताका साथ लिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
युरोपेली देशका सरकारहरु सबै दललाई समेटर कोरोनाविरुद्ध लडेको तर नेपाल सरकारले दम्भ देखाएर सर्वपक्षीय संयन्त्र नबनाई एक्कै हिँडेको समेत उहाँले बताउनुभयाे ।
सरकार र सत्तापक्षले पछिल्लो समय कोरोनाले निम्त्याएको स्वास्थ्य क्षेत्रको महामारीसँगै आर्थिक क्षेत्रमा परेको समस्यालाई आत्मसाथ गरेको देखिएपनि अझैपनि सरकारले त्यसतर्फ प्रभावकारी कदम चाल्न नसकेको बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयका विशेषज्ञहरुले नेपालमा अझै पनि कोरोना संक्रमण उच्च विन्दुमा नपुगेको र उच्च विन्दुमा पुगेमा करिब २० हजारको हाराहारीमा संक्रमित पुग्ने र करिब ५ सय जनाको ज्यान जाने प्रक्षेपण गरेकाे समेत उहाँले बताउनुभयाे ।
आइसोलेशन बेड बढाउनेतर्फ पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो 'प्री कोभिड १९ को प्रि तयारी हुनुपर्ने न राजनीतिक तयारी हुन सक्यो ? न मानसिक तयारी हुन सक्यो ? न लजिस्टिक तयारी हुन सक्यो । त्यसकारण यसमा हामी चुकेकै हो । सरकारले यसलाई मान्नै पर्छ ।'
पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै उहाँले भारतीय सिमा क्षेत्रमा रहेका क्वारेन्टाइन व्यवस्थित बनाउन माग गर्नुभयो ।
