काठमाडाैं । संघीय संसद्काे चाुल अधिवेशनमा संविधान संशाेधन विधेयक दर्ताकाे लहर नै चलेकाे छ ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएकाे नक्सा निशान छापमा राख्न सरकारले संविधान संशाेधन विधेयक दर्ता गरेकाे छ ।
त्यसपछि भने गैह्र सरकारी विधेयक दर्ताकाे लहर चलेकाे हाे । शुक्रबार गैह्र सरकारी विधेयकको रुपमा थप एउटा संविधान संशोधन विधेयक संघीय संसद् सचिवालयमा दर्ता भएको छ ।
नेमकिपाका सांसद् प्रेम सुवालले संविधान संशोधन विधेयक दर्ता गराउनु भएको हो । सुवालले शुक्रबार दिउँसाे २ बजेर २० मिनेटमा आफ्नो तर्फबाट संविधान संशोधन विधेयक दर्ता गराउनु भएको विधेयक शाखाकी अधिकृत सावित्रा शर्माले जानकारी दिनुभयो ।
सांसद सुवालले नेपालका नागरिक सबैलाई सैनिक तालिम दिनुपर्ने, राष्ट्रपति कार्यकारी प्रमुख हुनुपर्ने लगायत विषयमा आफ्नो संशोधन राख्नु भएको छ ।
यसअघि सरकारले नक्सा अनुसार संविधानको अनूसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधानको दोस्राे संशोधन विधेयक दर्ता गराएको थियो । सो विधेयक संसदीय प्रक्रियामा गइसकेको छ ।
त्यसपछि राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको तर्फबाट संयुक्त रुपमा, नेपालको संविधानको धारा ७, ११, ३८, ८६,२७४, २८२, २८३ र २८७ मा भएको व्यवस्था संशोधनको माग गर्दे नेपाली कांग्रेसका सांसदहरु अमरेश कुमार सिंह, उमाकान्त चौधरी लगायत ८ जना सांसदको र जनमोर्चा नेपालको तर्फबाट संविधान संशोधन विधेयक दर्ता भएका छन् ।
सांसद सुवालले संविधान संशोधन विधेयक दर्ता गराएसंगै संविधान संशोधनका लागि गैरसरकारी संशोधन विधेयकको संख्या ४ पुगेको छ ।
