काठमाडौं । सांसद् गोमा देवकोटाले महिलाहरुको लागि राष्ट्रिय आपतकालीन कोष खडा गर्न आग्रह गर्नुभएको छ ।
प्रतिनिधि सभाको बजेट विनियोजन माथिको छलफलमा उहाँले सुत्केरी तथा गर्भवती महिलाहरुको अवस्था जटिल भएका कारण उनीहरुको सुरक्षाका लागि राष्ट्रिय आपतकालीन कोष खडा गर्नुपर्ने बताउनुभयो ।
उहाँले कानुन मन्त्रालयको अनुगमन क्षेत्र फितलो भएको आरोप लगाउनुभएकाे छ। कानुन मन्त्रालयका योजना प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो ।
ठूला हुने खानेको मात्र न्यायमा पहुँच पुगेको उहाँको भनाई छ । जेष्ठ नागरिक, एकल महिला, गरिब पिछडिएका वर्गले न्यायालयको ढकढक्याउँदा पनि न्याय पाउन नसकेको उहाँले बताउनुभयो ।
उहाँले महिला बालबालिका जेष्ठ नागरिक मन्त्रालयमा बजेट कम भएको पनि बताउनुभयो । अहिले पनि महिला जोखिम र असुरक्षित भएको बताउँदै उहाँले राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रभावकारी रुपमा लागू हुनुपर्ने बताउनुभयो ।
त्यस्तै उहाँले नेपाली महिलाहरु माथि झुण्डिएको जातोलाई न्यूनीकरण गर्नको लागि राष्ट्रपति महिला उत्थान कार्यक्रमले प्रभावकारी रुपमा काम गर्ने विश्वास लिएको उहाँले बताउनुभयो ।
उहाँले शहर, पहाड तथा हिमाली क्षेत्रका जनताले स्वच्छ खानेपानी पिउन नपाएको हुँदा आगामी वर्षसम्म हरेकको घर घरमा खानेपानी पुग्ने विश्वास लिएको बताउनुभयो ।
त्यस्तै उहाँले कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई नेपालको नक्सामा समेटेकोमा भूमि मन्त्रालायलाई धन्यवाद समेत दिनुभएको छ ।
