काठमाडौं । कांग्रेस नेता एवं प्रतिनिधि सभाका सांसद् मिनेन्द्र रिजालले सबै एकैठाउँमा बसेर काम गर्न ढिला भइसकेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको शनिबारको बैठकमा विनियोजन बजेट माथि खर्च कटौती प्रस्ताव राख्दै रिजालले भन्नुभयो, ‘सबै मिलौँ, संगै बसौँ, देश सबैको साझा हो, सबै मिलेर लागौँ ।’
कोरोना संक्रमणको कारण देश गम्भिर अवस्थामा पुगको बताउँदै सांसद् रिजालले नेपालमा संक्रमित १० हजार पुग्ने अनुमान गरिएकोमा त्यो भन्दा धेरै बढ्ने देखिएको बताउनुभयो ।
भारतीय नाकाबाट आएका अधिकांस नेपालीमा संक्रमण देखिएकोले अवस्था भयावह भएको रिजालले बताउनुभयो । ‘ती नाकाबाट आएका मान्छेले कथित क्वारेन्टिनका सबैलाई संक्रमित बनाउँदा कोरोना संक्रमितको संख्या कति पुग्ला ?’ भन्दै रिजालले प्रश्न गर्नुभयो ।
पूँजीगत खर्च गर्नसक्ने क्षमता सरकारसँग नभएको बताउँदै रिजालले भन्नुभयो, ‘यसपटक त सरकारमा इमान्दारिता पनि देखिएन ।
अहिले अवस्था अति जटिल बनेको भन्दै उहाँले अर्थतन्त्र संकुचित मात्र नभई शिथिल नै भएको बताउनुभयो । त्यसैले बजेट माथि छलफल गर्नुको खासै अर्थ नरहेको उहाँको भनाई छ ।
