काठमाडौं । प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले कोरोनाका कारण आगामी दिनमा आइपर्ने महामारीलाई रोक्नका लागि आवश्यक तयारी गर्न सरकारलाई सुझाव दिनुभएको छ ।
प्रतिनिधि सभाको शनिबारको बैठकमा विनियोजन विधेकमाथिको छलफलमा खर्च कटौतीको प्रस्ताव राख्दै राष्ट्रिय जनमोर्चाकी सांसद् पौडेलले त्यस्तो सुझाव दिनुभएको हो ।
छलफलका क्रममा उहाँले देशको समग्र विकासका लागि सन्तुलित र विकेन्द्रितरुपमा बजेट विनियोजन हुन नसकेको भनी चिन्ता प्रकट गर्नुभयो ।
उहाँले बजेटले व्यवस्थित रोजगारका प्याकेज ल्याउन नसकेको, वन विनाश रोक्ने विषयलाई सम्बोधन गर्न नसकेको तथा ढुङ्गा, गिटी बालुवा निकासी रोक्न तथा चुनाखानीलाई व्यवस्थित गर्न नसकेको भनी सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले कोभिड–१९ ले ध्वस्त पारेको पर्यटन क्षेत्रलाई माथि उकास्न सरकारले उपयुक्त कार्यक्रम ल्याउन नसकेको आरोप पनि लगाउनुभयो ।
मुलुकलाई आत्मनिर्भर बनाउन उद्योगको कुनै योजना नभएको आरोप लगाउँदै उहाँले उद्योग, व्यापारको विकास र संरक्षणमा ठोस नीति ल्याउन माग गर्नुभयो । रोगको उपचार र क्वारेन्टिनको पर्याप्त व्यवस्था गर्नसमेत उहाँले सरकारसँग माग गर्नुभयो ।
